मधेश प्रदेशमा सात दलबीच नयाँ सरकार गठनको तयारी
- जनकपुर — मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया तीव्ररूपमा सुरु भएको छ।
- सर्वोच्च अदालतको परमादेशपछि विश्वासको मत नपाउने अवस्था देखिएपछि बुधबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री सरोजकुमार यादव (महोत्तरी) ले राजीनामा दिएका छन्।
जनकपुर — मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया तीव्ररूपमा सुरु भएको छ। सर्वोच्च अदालतको परमादेशपछि विश्वासको मत नपाउने अवस्था देखिएपछि बुधबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री सरोजकुमार यादव (महोत्तरी) ले राजीनामा दिएका छन्। यसको पश्चात् मधेश प्रदेशमा अर्को सरकार गठनका लागि सात दलबीच रस्साकस्सी सुरु भएको छ।
जसपा नेपालका प्रमुख सचेतक रामआशिष यादवका अनुसार, सात दलबीच अनौपचारिक वार्ता जारी छ। ‘अहिले हामी सानो–सानो समूहमा छलफलमा बसेका छौं। यो अनौपचारिक वार्ता हो,’ यादवले बताए। उनले थपे, ‘औपचारिक बैठक केहीबेरमा बस्नेछ। जसपा नेपाल सबै विकल्पमा खुला छ।’
यादवले भने, ‘संघीयता बलियो बनाउने, प्रदेशको सशक्तिकरण गर्ने र लोकतन्त्रलाई संस्थागत गर्ने दिशामा जसपाको अडान रहन्छ। मुख्यमन्त्री पद हाम्रो लागि ठूलो महत्वको होइन। सात दलमध्ये जसको नेतृत्वमा सरकार बने पनि जसपा नेपालको समर्थन रहिरहनेछ।’
सात दलभित्र ठूलो दलको हैसियतले कांग्रेसले सरकार नेतृत्व गर्नुपर्ने दाबी गरेको छ। कांग्रेसले मुख्यमन्त्री पदका लागि संसदीय दलका नेता तथा प्रदेश अध्यक्ष कृष्णप्रसाद यादवलाई अगाडि सारेको छ। कांग्रेसका प्रमुख सचेतक कुँवरकान्त झाले कृष्णप्रसाद यादवलाई सबै दलसँग वार्ता गर्ने जिम्मेवारी दिएको जानकारी दिए।
त्यसैगरी, लोसपाले पनि मुख्यमन्त्री पदमा आफ्नो दाबी पेश गरेको छ। लोसपाका सांसद उपेन्द्र महतोका अनुसार, यसअघि जितेन्द्र सोनलकै नेतृत्वमा बनेको सरकार छोटो समयसम्म रहेकाले पुनः सोनलकै नेतृत्वमा सरकार गठन हुनुपर्ने अडान लोसपाले राखेको छ।
बुधबार साँझ प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नेपालको संविधानको धारा १६८(२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए। पत्रमा उल्लेखित अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत पाउन सक्ने प्रदेशसभा सदस्यलाई शुक्रबार अपराह्न ५ बजेसम्म मुख्यमन्त्री पदमा दाबी पेश गर्न आह्वान गरिएको छ।
यससँगै मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया चाँडै नै औपचारिक रुप लिन सक्ने संभावना देखिएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






