सुस्तामा डुबान: २९ जनाको उद्धार, गाई र १३ बाख्रा सुरक्षित स्थानमा सारिए
- काठमाडौं ।
- नारायणी नदीको बाढी बस्तीमा पसेपछि पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित थारुटोलबाट सशस्त्र प्रहरीले २९ जनाको सकुशल उद्धार गरेको छ।
काठमाडौं । नारायणी नदीको बाढी बस्तीमा पसेपछि पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित थारुटोलबाट सशस्त्र प्रहरीले २९ जनाको सकुशल उद्धार गरेको छ। उद्धार टोलीले एक गाई र १३ वटा बाख्रालाई पनि सुरक्षित स्थानमा सारेको छ।
केही दिनदेखि परेको अविरल वर्षाका कारण नदीको बहाव बढेपछि थारुटोलमा पानी पसेको थियो। आज बिहान पौने ९ बजे सशस्त्र प्रहरी बल, नेपालअन्तर्गत बीओपी सुस्ताबाट उद्धार टोली परिचालन गरिएको थियो।
सशस्त्र प्रहरी निरीक्षक मनोज कार्कीको कमान्डमा खटिएको २१ सदस्यीय टोलीले बाढीमा परेका स्थानीयलाई उद्धार गरेको हो। उद्धार गरिएका स्थानीय र चौपायालाई सुस्ता गाउँपालिका–५ स्थित होल्डिङ सेन्टरमा राखिएको सशस्त्र प्रहरीले जनाएको छ।

यसअघि नारायणीको बाढीले थारुटोलका १६५ घर प्रभावित पारेको थियो। त्यहाँका ७८ परिवारलाई होल्डिङ सेन्टरमा सारिएको थियो। सैनिकटोल र बड्काटोलमा पनि बाढी पसेपछि थप ८५ परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको थियो।
स्थानीयका अनुसार नारायणी नदीको जलस्तर अझै बढिरहेको छ र सुस्ताका अन्य बस्ती पनि जोखिममा छन्। निर्माणाधीन तटबन्धको १३२ मिटर भाग पूरा हुन बाँकी रहेकाले उक्त क्षेत्रमा नदी कटानको जोखिम रहेको उनीहरूको भनाइ छ। बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीको उद्धार कार्य जारी छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






