मधेश प्रदेशमा पूर्वाधार र जलस्रोत आयोजना अनुगमन गर्न नयाँ उपसमिति गठन
- सिरहा — मधेश प्रदेशमा पूर्वाधार विकास, ऊर्जा, जलस्रोत र सिँचाइसम्बन्धी आयोजना तथा कार्यक्रमको प्रभावकारी अनुगमन र मूल्यांकन गर्न प्रदेशसभाको पूर्वाधार विकास समितिको अन्तर्गत नयाँ उपसमिति गठन गरिएको छ।
- यस उपसमितिले प्रदेशभित्र सञ्चालनमा रहेका विभिन्न आयोजना र कार्यक्रमको कार्यान्वयन, व्यवस्थापन र प्रभावकारिता अध्ययन गर्नेछ।
सिरहा — मधेश प्रदेशमा पूर्वाधार विकास, ऊर्जा, जलस्रोत र सिँचाइसम्बन्धी आयोजना तथा कार्यक्रमको प्रभावकारी अनुगमन र मूल्यांकन गर्न प्रदेशसभाको पूर्वाधार विकास समितिको अन्तर्गत नयाँ उपसमिति गठन गरिएको छ। यस उपसमितिले प्रदेशभित्र सञ्चालनमा रहेका विभिन्न आयोजना र कार्यक्रमको कार्यान्वयन, व्यवस्थापन र प्रभावकारिता अध्ययन गर्नेछ।
उपसमितिमा सांसद तपेश्वर यादव, डा. मो. फिरदोश आलम, यशोदा कुमारी, राजकिशोर महतो कोइरी र रामाकान्त प्रसाद चौरसिया सदस्य रहेका छन्। यसले मन्त्रालय, सरकारी निकाय र विभिन्न आयोजनाको कार्यसम्पादन र गतिविधिको विस्तृत अध्ययन र मूल्यांकन गर्ने जिम्मेवारी लिएको छ।
अनुगमनका क्रममा देखिएका विषयहरूमा आवश्यक टिप्पणी र सिफारिससहित प्रतिवेदन पेश गरिने यादवले बताए। यस अन्तर्गत सार्वजनिक सम्पत्तिको हिनामिना भए-नभएको, प्रचलित ऐन, नियम र सम्झौताका आधारमा काम भएको हो कि छैन, जस्ता विषयहरू समेत अध्ययन गरिनेछन्। साथै, आयोजना सम्बन्धी प्रतिवेदन, करार सम्झौता, लेखा र अन्य कागजातहरूको अध्ययन गरी स्थलमै पुगेर अनुगमन गर्ने र सरोकारवालासँग छलफल गर्ने कार्य पनि यस उपसमितिको जिम्मेवारीमा पर्नेछ।
अध्ययन र अनुगमनका क्रममा विज्ञ, विशेषज्ञ र अनुसन्धानकर्तासँग परामर्श गरी प्रतिवेदन तयार गरिनेछ। यस उपसमितिको कार्यावधि २०८३ साल माघ मसान्तसम्म तोकिएको छ। यसले प्रदेशभित्रका विभिन्न आयोजना र कार्यक्रमको प्रभावकारी कार्यान्वयन र दीर्घकालीन स्थिरता सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






