सरकारले रसुवामा बाढी पीडितहरूको लागि स्वास्थ्य आपतकालीन प्रणाली सक्रिय गर्यो
- काठमाडौं – रसुवामा आएको बाढी र त्यसबाट हुन सक्ने मानवीय क्षतिलाई मध्यनजर गर्दै स्वास्थ्य मन्त्रालयले स्वास्थ्य आपतकालीन प्रणालीलाई सक्रिय बनाएको जनाएको छ।
- मन्त्रालयले प्रभावित क्षेत्रका स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई सतर्क रहन र आवश्यक परेमा तत्काल उपचार तथा रिफर गर्ने व्यवस्था मिलाएको हो।
काठमाडौं – रसुवामा आएको बाढी र त्यसबाट हुन सक्ने मानवीय क्षतिलाई मध्यनजर गर्दै स्वास्थ्य मन्त्रालयले स्वास्थ्य आपतकालीन प्रणालीलाई सक्रिय बनाएको जनाएको छ। मन्त्रालयले प्रभावित क्षेत्रका स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई सतर्क रहन र आवश्यक परेमा तत्काल उपचार तथा रिफर गर्ने व्यवस्था मिलाएको हो।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समीर अधिकारीका अनुसार, बाढीको सूचना पाएपछि मन्त्रालयले बिहानदेखि नै सतर्कता अपनाएको छ। प्रभावित क्षेत्रका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई तयार रहन जानकारी गराइएको छ भने मन्त्रालयको हेल्थ इमर्जेन्सी अपरेसन सेन्टर पनि सक्रिय गरिएको छ।
“बिहानदेखि नै तयारी अवस्थामा छौं। स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई सूचित गरिसक्यौं। हाम्रो हब–स्याटेलाइट अस्पतालको नेटवर्क पनि सक्रिय गरिएको छ,” उनले अनलाइनखबरसँग बताएका छन्।
डा. अधिकारीका अनुसार, रसुवा र आसपासका क्षेत्रमा रहेका अस्पतालहरूमा प्राथमिक उपचार र बिरामीको अवस्था छुट्याउने ‘ट्रायज’ व्यवस्था मिलाएको छ। स्थानीय स्तरमा उपचार सम्भव नभएका गम्भीर घाइतेलाई हब अस्पतालमा रिफर गरी थप उपचार गर्न तयारी गरिएको छ।
मन्त्रालयले वीर अस्पताल, ट्रमा सेन्टर, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगायतका प्रमुख हब अस्पताललाई गम्भीर घाइतेको उपचारको लागि तयार राखेको जनाएको छ। प्रभावित क्षेत्रका अस्पताल र स्वास्थ्य संस्थाबाट रेफर भएर आउने बिरामीलाई काठमाडौंका ठूला अस्पतालमा व्यवस्थापन गर्ने तयारीसमेत गरिएको छ।
प्रवक्ता डा. अधिकारीका अनुसार, त्रिशूली अस्पताल, रसुवा अस्पताल, धुन्चे अस्पताल र आसपासका स्थानीय तहका स्वास्थ्य संस्थाबीच समन्वय गरी बिरामीको अवस्था हेरेर स्थानीय स्तरमै उपचार गर्ने वा तत्काल माथिल्लो तहको अस्पतालमा रिफर गर्ने व्यवस्था मिलाइएको छ।
“यस्ता विपद्को लागि पूर्वनिर्मित कार्ययोजना छन्। हरेक अस्पतालको आफ्नै विपद् व्यवस्थापन योजना हुन्छ। यदि स्थानीय अस्पतालले उपचार गर्न सक्दैन भने, हब अस्पतालमा रिफर गरी थप उपचार गराइन्छ,” उनले बताए।
बाढीबाट गम्भीर घाइते भएर काठमाडौं आइपुगेकाको यकिन विवरण भने तत्काल उपलब्ध भएको छैन। प्रवक्ता अधिकारीका अनुसार, घाइते र प्रभावितको विवरण संकलन र अध्यावधिक गरिँदैछ र थप जानकारी प्राप्त भएपछि सार्वजनिक गरिनेछ।
“अहिलेसम्म आइपुगेका गम्भीर घाइतेको विवरण पूर्ण रूपमा संकलित भएको छैन। विवरण आएपछि हामी बेलुकासम्म अपडेट गर्नेछौं,” उनले भने।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






