प्रदेश प्रमुखको कार्यशैलीप्रति सोनलको गम्भीर टिप्पणी: ‘आमाभित्रको पुतना’ निस्किनुभएको
- जनकपुरधाम — मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका छन्।
- उनले प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीको नियुक्ति नगरेको र प्रदेश सभाका करिब दुई तिहाइ सांसदको भावना विपरीत उपधारा ३ अन्तर्गत नै मुख्यमन्त्री नियुक्त गरेको आरोप लगाएका हुन्।
जनकपुरधाम — मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका छन्। उनले प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीको नियुक्ति नगरेको र प्रदेश सभाका करिब दुई तिहाइ सांसदको भावना विपरीत उपधारा ३ अन्तर्गत नै मुख्यमन्त्री नियुक्त गरेको आरोप लगाएका हुन्।
सोनलले यसलाई संविधान र संघीयताको उल्लंघन भएको भन्दै ती कार्यशैलीप्रति आपत्ति जनाएका हुन्। उनका अनुसार, प्रदेश प्रमुखले दुईवटा कुराको गरिमा गिराउनु भएको छ — एक, महिला भएको कारण र अर्को, बिरामीको गरिमा। उनले भने, “उहाँले आफू बिरामी रहेको र उपचारका लागि काठमाडौं जान्छु भन्नुभयो। मलाई दया लाग्यो। एक त महिला, त्यसमाथि पनि बिरामी। म बिहान चार बजे उहाँको बेडरुममा गएर फूलसहित बिदा दिएर स्वास्थ्य लाभको कामना गरेँ।”
यस क्रममा उनले प्रदेश प्रमुखले आफूलाई “तपाईं नै मुख्यमन्त्री हुनुहुन्छ” भन्ने आश्वासन दिएको र फर्किएर नयाँ व्यवस्थामा अघि बढ्ने बताए पनि, सो घटनाले प्रदेशभित्रको राजनीतिक गतिरोध अझ चुलिएको संकेत गरेका छन्।
सोनलका अनुसार, उनीहरूले आइतबार मात्र दुई तिहाइभन्दा बढी समर्थनसहित ७४/७५ सांसदको समर्थन लिई प्रदेश प्रमुखसँग भेट गरेका थिए। सो भेटमा, प्रदेश प्रमुखले आफू यसलाई कदर गर्छु भनी बताएका थिए। तर, हिजोको घटनाले उनीहरूको भरोसा तोडिएको उनको भनाइ छ।
उनले थपे, “उहाँले बिरामी छु नभनेर अहिले जे गर्नुभएको छ, त्यही गर्छु भन्दै हिँडे। यदि उहाँलाई उपधारा ३ अन्तर्गत नै मुख्यमन्त्री नियुक्त गर्न मन थियो भने हिजो नै भन्नुपर्थ्यो। रेस्टुरेन्ट, होटलमा गएर मुख्यमन्त्रीको शपथ गराउने कुरा किन भयो?”
सोनलले यस घटनाक्रमबारे आफ्ना पार्टी र कानुनी उपचारमा जाने तयारी गरिरहेका छन्। उनले भने, “हामी कानुनी उपचारमा जान्छौँ, जनतासामु जान्छौँ। यस्तो प्रदेश प्रमुखलाई राख्ने कि नराख्ने, गम्भीर प्रश्न उठिरहेको छ। मजस्तो मान्छेसँग झुट बोल्ने हो भने हाम्रो मानवता र संविधानको हनन हुन्छ।”
यस विषयमा थप छलफल भइरहेको र आगामी दिनमा थप कदम चालिने संकेत दिएका छन्। प्रदेशको राजनीतिक माहौल यस घटनाले अझ चिसिएको देखिन्छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






