अमेरिकी मध्यावधि निर्वाचन: सर्वेक्षणमा डेमोक्र्याट्स अघि, नतिजा अझै अनिश्चित
- काठमाडौं ।
- अमेरिकामा मंगलबार हुने मध्यावधि निर्वाचनको पूर्वसन्ध्यामा विपक्षी डेमोक्रेटिक पार्टी उत्साहित देखिएको छ।
काठमाडौं । अमेरिकामा मंगलबार हुने मध्यावधि निर्वाचनको पूर्वसन्ध्यामा विपक्षी डेमोक्रेटिक पार्टी उत्साहित देखिएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियता घट्दै गएको र दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिप्रति जनअसन्तुष्टि बढेको अवस्थामा डेमोक्र्याट्सले प्रतिनिधिसभा र सिनेट दुवैमा बहुमत हासिल गर्ने लक्ष्य राखेका छन्।
यद्यपि, विगतका निर्वाचनमा जनमत सर्वेक्षणले वास्तविक नतिजा सही आकलन गर्न नसकेका कारण यसपटक पनि राजनीतिक वृत्तमा सतर्कता र अनिश्चितता छ।
प्रतिनिधिसभामा डेमोक्र्याट्सको अग्रता
पछिल्ला महिनामा सार्वजनिक सर्वेक्षणहरूले प्रतिनिधिसभामा डेमोक्र्याट्सले बहुमत हासिल गर्ने सम्भावना बलियो देखाएका छन्। बहुमतका लागि प्रतिनिधिसभामा २१८ सिट आवश्यक पर्छ। सिनेटमा भने प्रतिस्पर्धा अझै कडा छ। केही महत्त्वपूर्ण राज्यमा डेमोक्रेटिक उम्मेदवारहरू अघि देखिएका छन् भने अन्य राज्यमा प्रतिस्पर्धा झिनो अन्तरको छ।
न्युयोर्क टाइम्स र सिएना कलेजको हालैको सर्वेक्षणमा रिपब्लिकनको बलियो पकड रहेको साउथ क्यारोलाइनामा पनि सिनेटका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ। सन् २०२४ को राष्ट्रपति निर्वाचनमा ट्रम्पले उक्त राज्य १८ प्रतिशतभन्दा बढी मतान्तरले जितेका थिए।
सीएनएनको सर्वेक्षणले टेक्सस र मिशिगनमा डेमोक्रेटिक उम्मेदवार बलियो अवस्थामा रहेको देखाएको छ। मेन र कान्सासमा भने प्रतिस्पर्धाको नतिजा अझै स्पष्ट छैन।
सर्वेक्षण किन चुक्न सक्छन्?
अमेरिकी राजनीतिमा जनमत सर्वेक्षणको विश्वसनीयतामाथि पटक-पटक प्रश्न उठ्दै आएको छ। सन् २०१६ को राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पले धेरै सर्वेक्षणको अनुमानविपरीत जित हासिल गरेका थिए। सन् २०२० र २०२४ का निर्वाचनमा पनि सर्वेक्षणहरूले ट्रम्पको वास्तविक मत समर्थन कम आकलन गरेको देखिएको थियो।
ट्रम्पले राजनीतिप्रति निराश वा नियमित रूपमा मतदान नगर्ने मतदातालाई समेत ठूलो सङ्ख्यामा मतदान केन्द्रसम्म ल्याउन सक्ने विश्लेषण गरिन्छ। यस्ता मतदातालाई सर्वेक्षणमा समेट्न कठिन हुन सक्छ।
‘इप्सोस पब्लिक अफेयर्स’का अध्यक्ष क्लिफोर्ड यङका अनुसार ल्यान्डलाइन फोनको प्रयोग घट्नु, अपरिचित नम्बरबाट आएका फोन नउठाउनु र विशेषगरी दक्षिणपन्थी मतदातामा व्यवस्थाप्रति अविश्वास बढ्नुले सर्वेक्षणमा सहभागी हुनेको सङ्ख्या घटाएको छ। यसले रिपब्लिकन मतदाताको वास्तविक समर्थन कम देखिने जोखिम बढाउँछ।
सत्तारूढ दललाई मध्यावधिमा धक्का लाग्ने परम्परा

अमेरिकी इतिहासमा मध्यावधि निर्वाचनमा राष्ट्रपतिको दलले प्रायः सिट गुमाउने गरेको छ। सन् २०१० मा राष्ट्रपति बाराक ओबामाको कार्यकालमा रिपब्लिकन पार्टीले प्रतिनिधिसभामा ६० भन्दा बढी सिट थपेको थियो। यसपटक डेमोक्र्याट्स विपक्षी भूमिकामा छन् भने अर्थतन्त्र र महँगी प्रमुख चुनावी मुद्दा बनेका छन्। ट्रम्पको घट्दो लोकप्रियता र जीवनयापनको बढ्दो लागतले डेमोक्र्याट्सलाई फाइदा पुग्न सक्ने आकलन छ।
तर, चुनौतीहरू पनि छन्। सन् २०२४ मा ट्रम्पले सहजै जितेका कतिपय निर्वाचन क्षेत्रमा रिपब्लिकन उम्मेदवारहरूको बलियो आधार छ। निर्वाचन क्षेत्रको पुनर्निर्धारणले पनि केही स्थानमा प्रतिस्पर्धाको समीकरण बदल्न सक्छ।
राजनीतिक रूपमा स्थिर मतदाताको सङ्ख्या बढ्दै जाँदा अन्तिम समयमा विचार बदल्ने मतदाता घटेका छन्। अर्कोतर्फ, रिपब्लिकन पार्टीसँग चुनावी चन्दा र प्रचारप्रसारका लागि ठूलो आर्थिक स्रोत छ। उसले अन्तिम सातामा डेमोक्रेटिक उम्मेदवारविरुद्ध विज्ञापनमा ठूलो रकम खर्च गरिरहेको छ।
सन् २०२२ को नजिर र ट्रम्पका चुनावी र्याली
राष्ट्रपति निर्वाचनभन्दा फरक, मध्यावधिमा ट्रम्प स्वयं उम्मेदवार नहुने भएकाले उनको व्यक्तिगत प्रभाव केही कम हुन सक्छ। सन् २०२२ को मध्यावधि निर्वाचनमा तत्कालीन राष्ट्रपति जो बाइडेनको लोकप्रियता कमजोर हुँदाहुँदै डेमोक्र्याट्सले सिनेटमा आफ्नो बहुमत जोगाएका थिए। प्रतिनिधिसभामा भने उनीहरूले झिनो अन्तरले बहुमत गुमाएका थिए।
यसपटक ट्रम्प अन्तिम दिनहरूमा सन् २०२४ मा आफूले सहजै जितेका राज्यहरूमा समेत पुगेर चुनावी र्याली गरिरहेका छन्। आयोवा र कान्सासमा उनका पछिल्ला सम्बोधनले रिपब्लिकन पार्टीले आफ्नो पकड भएका क्षेत्रमा पनि मतदाता परिचालनलाई प्राथमिकता दिएको देखाउँछ।
रिपब्लिकन उम्मेदवारहरू दबाबमा परेको र प्रतिस्पर्धा अपेक्षाभन्दा कडा बनेको अवस्थामा ट्रम्पको सक्रियता बढेको विश्लेषण गरिएको छ।
विज्ञहरूका अनुसार सर्वेक्षणको त्रुटि सीमा र अन्तिम समयमा अनिर्णित मतदाताले गर्ने निर्णयले नतिजामा ठूलो प्रभाव पार्न सक्छ। त्यसैले सर्वेक्षणमा डेमोक्र्याट्स अघि देखिए पनि अन्तिम नतिजाका लागि मतदान र मतगणना कुर्नुपर्नेछ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






