रास्वपा सांसद खगेन्द्र सुनारले अनुशासन आयोगलाई बुझाए लिखित जवाफ
- काठमाडौं ।
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले एक महिलासँगको फोन संवादमा बोलेका भनिएका विषयबारे पार्टीको अनुशासन आयोगलाई लिखित जवाफ बुझाएका छन्।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले एक महिलासँगको फोन संवादमा बोलेका भनिएका विषयबारे पार्टीको अनुशासन आयोगलाई लिखित जवाफ बुझाएका छन्। आयोगकी उपप्रमुख एवं अधिवक्ता हरिचन्द्र भट्टराईले सुनारको प्रतिक्रिया प्राप्त भएको जानकारी दिए।
सुनारले जवाफमा के उल्लेख गरेका छन् भन्नेबारे भट्टराईले खुलाउन चाहेनन्। उनका अनुसार प्रतिक्रिया लिनु छानबिनको पहिलो चरण हो। त्यसबाट आयोग सन्तुष्ट नभए वा थप प्रमाण आवश्यक देखिए अर्को चरणको अनुसन्धान अघि बढाइनेछ।
यस विषयमा छानबिन गर्न आयोगले छुट्टै समिति गठन गरेको छ। भट्टराईको नेतृत्वमा बनेको छ सदस्यीय समितिलाई रायसहित प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिइएको छ। समितिको कार्यावधि भने तोकिएको छैन।
समितिको पहिलो बैठकले सुनारको संवाद भएको दाबी गरिएका अडियो सामग्री संकलन गरेको भट्टराईले बताए। ती सामग्री प्रकाशित गर्ने सञ्चारमाध्यमलाई घटनासँग सम्बन्धित थप विवरण र सम्पादन हुनुअघिको मूल अडियो उपलब्ध गराउन पत्राचार गर्ने निर्णय भएको उनले जानकारी दिए।
उक्त अडियो सबैभन्दा पहिले जनआस्था साप्ताहिकको अनलाइन संस्करणमा प्रकाशित भएको थियो। पीडित भनिएकी महिलासँग सम्बन्धित भनी न्युज २४ टेलिभिजनमा प्रसारित सामग्रीसहित थप विवरण उपलब्ध गराउन पनि समितिले आग्रह गर्नेछ।
अडियोको प्राविधिक पक्ष जाँच्न समितिले कानुनको अधीनमा रहेर विशेषज्ञको राय लिने जनाएको छ। आरोपबारे छिटो, निष्पक्ष र विश्वसनीय छानबिन गर्ने समितिको दाबी छ। राज्यका निकायले गरिरहेको अनुसन्धानमा अवरोध नपुग्ने गरी काम भइरहेको भट्टराईले बताए।
छानबिन प्रतिवेदन दशैंअघि तयार हुने सम्भावना कम रहेको समितिले जनाएको छ। मूल अडियो प्राप्त भएपछि समितिले पुनः बैठक बसेर अनुसन्धान अघि बढाउनेछ। भट्टराईका अनुसार प्रमाणको अवस्था र अनुसन्धानले माग गर्ने प्रक्रियाका आधारमा छानबिनको समय निर्भर हुनेछ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






