पोखरा बसपार्क क्षेत्रमा भूमिहीन र सुकुमबासीको अन्तिम विवरण टुंगो, स्थानान्तरण प्रक्रिया शुरू
- पोखरा – पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित प्रस्तावित बसपार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबास गर्ने परिवारहरूको अन्तिम विवरण टुंगो लागेको छ।
- महानगरले यस क्षेत्रको व्यवस्थापनका लागि आवश्यक प्रक्रिया अघि बढाएको हो।
पोखरा – पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित प्रस्तावित बसपार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबास गर्ने परिवारहरूको अन्तिम विवरण टुंगो लागेको छ। महानगरले यस क्षेत्रको व्यवस्थापनका लागि आवश्यक प्रक्रिया अघि बढाएको हो।
महानगरले बसपार्कमा बसोबास गरिरहेका परिवारहरूको दाबी–विरोध, संशोधन निवेदन र आवश्यक छानबिनपछि वडाको सहजीकरण समितिले तयार पारेको विवरणअनुसार ३२५ परिवार भूमिहीनको सूचीमा परेका छन् भने २४२ परिवार अव्यवस्थित बसोबास गर्न बाध्य भएको पुष्टि भएको महानगर प्रमुख धनराज आचार्यले जानकारी दिए। प्रारम्भिक रूपमा, भूमिहीन दलितका २००, भूमिहीन सुकुमबासीका २४८ र अव्यवस्थित बसोबास गर्ने परिवारका ११६ निवेदन प्राप्त भएका थिए। छानबिनपछि अन्तिम रूपमा १४४ परिवार भूमिहीन दलित र १८१ परिवार भूमिहीन सुकुमबासीको सूचीमा परेका हुन्।
वडाले सार्वजनिक गरेको सूचनाअनुसार, दाबी–विरोध र छानबिनको प्रक्रिया सम्पन्न भएपछि अन्तिम सूची तयार गरिएको हो। वडा तहको सहजीकरण समितिले दाबी–विरोध र छानबिनपछि प्राप्त विवरणको आधारमा सिफारिस गरेको हो। वडा समितिको बैठकले यसलाई नियमानुसार स्वीकृत गरी आवश्यक सिफारिससहित महानगरपालिकामा पठाउने निर्णय गरेको छ।
महानगर प्रमुख आचार्यले भने, “हामीले वास्तविक भूमिहीन र सुकुमबासी परिवारहरूको पहिचान गरी कानुनबमोजिम व्यवस्था गर्न प्राथमिकता दिएका छौं। प्रक्रिया पूरा भएसँगै आवश्यक निर्णय गरी जिल्ला समितिमा सिफारिस पठाउने तयारी भइरहेको छ।” उनले थपे, “हामीले कसैलाई अन्याय नहोस् र पीडितलाई न्याय मिलोस् भन्ने उद्देश्य राखेका छौं।”
अब महानगरपालिकाको कार्यपालिकाले यस सम्बन्धमा छलफल गरी यसै साता जिल्ला समितिमा सिफारिस गर्ने तयारी गरेको छ। त्यसपछि बसपार्क क्षेत्रमा वर्षौंदेखि बसोबास गर्दै आएका सुकुमबासी र अन्य परिवारहरूको व्यवस्थापन र स्थानान्तरण प्रक्रिया औपचारिक रूपमा अघि बढ्नेछ। प्रक्रिया समयमा सम्पन्न भएमा अर्को साताबाट बसपार्क क्षेत्रको सुकुमबासी बस्ती स्थानान्तरणको काम सुरु हुने अपेक्षा गरिएको छ।
बसपार्कभित्र बसोबास गर्दै आएका सुकुमबासीले निष्पक्ष छानबिन र व्यवस्थापनमा सहकार्य गर्न तयार रहेको बताएका छन्। सुकुमबासी सरोकार समितिका संयोजक प्रेम गुरुङले भने, “हामी विकासका लागि बाधक होइनौं। बसपार्क बनाउनका लागि सहयोग गर्न तयार छौं, तर पहिले हाम्रो व्यवस्थापन हुनुपर्छ।”
विसं २०३२ मा जग्गा अधिग्रहण गरी निर्माणको योजनासहित बसेको बसपार्कको काम लामो समयदेखि पूर्ण हुन सकेको थिएन। जग्गा अतिक्रमण र व्यापारिक सटर हटाएपछि मात्र नयाँ योजनाको कार्यान्वयन सम्भव भएको हो। महानगरले नयाँ सुविधासम्पन्न बसपार्क निर्माण गर्नका लागि दातृ निकायको सहयोगमा योजना सार्वजनिक गरेको छ।
यस प्रयासले पोखरा शहरको यातायात र यात्री सेवा सुधार गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






