जलन उपचारका लागि राष्ट्रिय मापदण्ड तयार, सेवा चार तहमा वर्गीकरण
- काठमाडौं ।
- सरकारले जलन भएका बिरामीको उपचारमा देशभर एकरूपता कायम गर्न ‘जलनसम्बन्धी राष्ट्रिय उपचार सेवा मापदण्ड’ तयार गरेको छ।
काठमाडौं । सरकारले जलन भएका बिरामीको उपचारमा देशभर एकरूपता कायम गर्न ‘जलनसम्बन्धी राष्ट्रिय उपचार सेवा मापदण्ड’ तयार गरेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गतको उपचारात्मक सेवा महाशाखाले तयार पारेको मापदण्डमा प्रारम्भिक उपचारदेखि विशेषज्ञ सेवा, रेफरल, पुनर्स्थापना र स्वास्थ्यकर्मीको तालिमसम्मका विषय समेटिएका छन्।
मापदण्डले जलन उपचार सेवालाई चार तहमा वर्गीकरण गरेको छ। लेभल–१ मा आधारभूत, लेभल–२ मा सामान्य, लेभल–३ मा विशेषज्ञ र लेभल–४ मा सुपर–विशेषज्ञ जलन सेवा उपलब्ध हुने व्यवस्था गरिएको छ।
स्थानीय तह तथा समुदायमा कार्यरत स्वास्थ्यकर्मीलाई जलनको प्रारम्भिक उपचार, बिरामीको वर्गीकरण, तरल पदार्थ व्यवस्थापन, पीडा नियन्त्रण, घाउको ड्रेसिङ, निगरानी र अभिलेखीकरणसम्बन्धी तालिम दिनुपर्ने मापदण्डमा उल्लेख छ। आवश्यकताअनुसार बिरामीलाई उपयुक्त स्वास्थ्य संस्थामा रेफर गर्ने सीप पनि तालिममा समेटिनेछ।
उच्च तहको उपचार केन्द्र दुई घण्टाभन्दा बढी दूरीमा रहेको अवस्थामा स्थानीय अस्पतालले जलन भएका बिरामीलाई प्रारम्भिक २४ घण्टासम्म पुनर्जीवन उपचार दिन सक्ने क्षमता विकास गर्नुपर्नेछ। लेभल–३ र लेभल–४ का केन्द्रलाई विशेषज्ञ तथा उन्नत उपचार प्रदान गर्नुका साथै तालिममा सहयोग गर्ने जिम्मेवारी दिइएको छ।
जलनको प्राथमिक उपचारका लागि सम्भव भएसम्म प्रभावित भागलाई चिसो बगिरहेको पानीले ३० मिनेटसम्म चिस्याएर सफा कपडा वा ड्रेसिङले छोप्न मापदण्डले सुझाव दिएको छ। जलन भएको ठाउँमा टुथपेस्ट, माटो, घिउ, तेल, बटर वा जडीबुटीको लेप लगाउन तथा बरफ वा बरफपानी प्रयोग गर्न नहुने पनि मापदण्डमा स्पष्ट गरिएको छ।
त्यस्तै, सबै जलनका बिरामीलाई नियमित रूपमा प्रणालीगत एन्टिबायोटिक दिन नहुने र संक्रमणको स्पष्ट प्रमाण देखिएमा चिकित्सकीय मूल्यांकनपछि मात्र प्रयोग गर्नुपर्ने व्यवस्था छ।
मापदण्डले जलन उपचारलाई स्थिरीकरण, विशेषज्ञ उपचार, शल्यक्रिया, संक्रमण नियन्त्रण, पोषण, पुनर्स्थापना, मनोसामाजिक सहयोग र रेफरल प्रणालीसँग जोडेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार यसले बिरामीलाई अवस्थाअनुसार उपयुक्त संस्थामा समयमै उपचार तथा रेफरल सुनिश्चित गर्दै देशभर जलन उपचार सेवाको गुणस्तर र एकरूपता कायम गर्न सहयोग पुर्याउनेछ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






