राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौं ।
- लमजुङको राइनास नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि आएको १६ लाख ७२ हजार रुपैयाँ हिनामिना गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारी र तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपानेसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
काठमाडौं । लमजुङको राइनास नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि आएको १६ लाख ७२ हजार रुपैयाँ हिनामिना गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारी र तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपानेसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो। मुद्दा दायर हुनेमा तत्कालीन लेखापाल नवीनकुमार बराल, वडा नं. १ का तत्कालीन अध्यक्ष रमेश न्यौपाने, वडा नं. ३ का तत्कालीन सदस्य ओजराज पौडेल, वडा नं. ४ का तत्कालीन अध्यक्ष जैमान गुरुङ, वडा नं. ५ का तत्कालीन अध्यक्ष नन्दबहादुर कुमाल, वडा नं. ६ का तत्कालीन अध्यक्ष रुकबहादुर तामाङ गुरुङ, वडा नं. ७ का तत्कालीन अध्यक्ष माधवप्रसाद पराजुली र वडा नं. ८ का तत्कालीन अध्यक्ष कृष्णप्रसाद लामिछाने छन्।
आयोगका अनुसार आर्थिक वर्ष २०७६/७७ मा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राइनास नगरपालिकालाई सर्तसहित १६ लाख ७२ हजार रुपैयाँ अनुदान उपलब्ध गराएको थियो। तर, प्रतिवादीहरूले उक्त रकम तोकिएको कार्यक्रममा खर्च नगरी सरकारी सम्पत्तिको हिनामिना तथा दुरुपयोग गरेको र गैरकानुनी लाभ लिएको अख्तियारको आरोप छ।
आर्थिक वर्षको अन्तिम दिन कानुनविपरीत अनुदान रकम संघीय सञ्चित कोषमा फिर्ता नगरी तत्कालीन रोजगार संयोजक न्यौपानेले पेश्की लिएको र उक्त रकम अन्य प्रतिवादीका खातामा जम्मा गरेको आयोगले जनाएको छ। रकमबाट तोकिएको कार्यक्रम सञ्चालन नभएको, पेश्की हालसम्म फर्छ्योट नगरिएको र त्यसबाट कुनै काम भएको नदेखिएको अख्तियारको दाबी छ।
यसका अतिरिक्त, न्यौपानेले रोजगार संयोजक पदमा रहँदा नगरपालिकाबाट २०७६ वैशाख १६ मा बुझेका एक थान ल्यापटप, एक थान प्रिन्टर र एक थान क्यामेरा कार्यालयबाट २०७७ कात्तिक १ मा बर्खास्त भएपछि पनि बरबुझारथ नगरेको आयोगले जनाएको छ। ती सामग्रीको परल मूल्य १ लाख ६७ हजार २५६ रुपैयाँ रहेको र त्यसबाट पनि हानिनोक्सानी भएको अख्तियारको दाबी छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






