बाढीपहिरोले सडक, पुल र खानेपानीमा ठूलो क्षति; जलविद्युत् आयोजनामा १ खर्ब ३४ अर्बको नोक्सानी
- काठमाडौं ।
- असोज ९ यता परेको अविरल वर्षा र बाढीपहिरोले देशभरका सडक, पुल, खानेपानी तथा ऊर्जा पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ।
काठमाडौं । असोज ९ यता परेको अविरल वर्षा र बाढीपहिरोले देशभरका सडक, पुल, खानेपानी तथा ऊर्जा पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ। प्रारम्भिक विवरणअनुसार बाढीले ७८३ मेगावाट क्षमताका जलविद्युत् आयोजना प्रभावित भएका छन् भने आयोजनामा करिब १ खर्ब ३४ अर्ब ६९ करोड रुपैयाँ बराबरको क्षति भएको छ।
पूर्वाधार विकास मन्त्रालयका अनुसार कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको पोखरेबगर, बागलुङको मालढुंगा र तनहुँ–नवलपरासीको देदगाउँस्थित पुलका पहुँचमार्ग बगाएका छन्। कालीगण्डकीमाथिको एउटा पक्की पुलसमेत बाढीले बगाएको छ। कालीगण्डकी करिडोरका विभिन्न सडकखण्ड र डुम्रे–बेँसीसहर–चामे सडकमा पनि ठूलो क्षति पुगेको छ।
डुम्रे–बेँसीसहर–चामे सडकखण्डको लमजुङस्थित रामबजार–स्याङ्गे क्षेत्रमा मर्स्याङ्दी नदीले कटान गर्दा करिब ४० मिटर सडक भासिएको छ। मनाङको नासो–खोत्रोमा ढुंगासहितको पहिरोले सडक अवरुद्ध भएको छ भने नासो–बगरछापमा नदी कटानका कारण करिब ५० मिटर सडक भासिएको छ। चामेमा बाढीले तीनवटा अस्थायी काठे पुल बगाएको छ।
बाढी र पहिरोले काठमाडौं उपत्यका जोड्ने पृथ्वी, बीपी र कान्ति राजमार्गसहित जिल्लाका दर्जनभन्दा बढी सडकमा क्षति पुर्याएको छ। रुकुम पूर्वको नाथीगाड झोलुङ्गे पुल र बागलुङ–पर्वत जोड्ने जलजला–फोर्से झोलुङ्गे पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। तनहुँ, नवलपुर, स्याङ्जा, पाल्पा, पर्वत र म्याग्दीका अन्य झोलुङ्गे पुलमा आंशिक क्षति पुगेको मन्त्रालयको प्रारम्भिक विवरण छ।
बाढीपहिरोबाट ३१ वटा खानेपानी आयोजना पनि प्रभावित भएका छन्। मन्त्रालयका अनुसार क्षतिग्रस्त सडक पुनः सञ्चालन गर्ने काम सुरु भइसकेको छ र विभिन्न खण्डमा मर्मत तथा पुनःस्थापनाको काम भइरहेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार बाढीले जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्याएको छ। प्रभावित आयोजनामध्ये कालीगण्डकी जलविद्युत् आयोजना आजदेखि सञ्चालनमा ल्याउने योजना रहेको छ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आइतबार प्रभावित क्षेत्रका जनप्रतिनिधि र प्रधानमन्त्रीका सल्लाहकार सुदीप ढकालसँग छलफल गरेका थिए। छलफलमा बाढीबाट विस्थापित परिवारका लागि अस्थायी आवासको व्यवस्था गर्ने र क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माण तत्काल अघि बढाउने विषयमा कुराकानी भएको थियो।
मन्त्री लम्सालले क्षतिग्रस्त सडक, पुल, झोलुङ्गे पुल र खानेपानी आयोजनाको मूल्यांकन गरी बजेट व्यवस्थापन गर्ने तथा टेन्डर प्रक्रियामार्फत पुनर्निर्माण अघि बढाउने बताए। उनले असोजभित्रै पुनर्निर्माणको काम सुरु गर्ने प्रतिबद्धता जनाएका छन्।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






