धरानमा पार्किङमा राखिएका ६ बसमा आगलागी, तीन जलेर पूर्णरूपमा नष्ट, अनुसन्धान जारी
- सुनसरी — धरान उपमहानगरपालिका–८ स्थित अटल ग्यारेजमा पार्किङमा राखिएका ६ वटा बसमा मंगलबार राति आगलागी भएको छ।
- आगलागीका कारण तीनवटा बस जलेर पूर्णरूपमा नष्ट भएका छन् भने अन्य तीनवटा बसमा आंशिक क्षति पुगेको छ।
सुनसरी — धरान उपमहानगरपालिका–८ स्थित अटल ग्यारेजमा पार्किङमा राखिएका ६ वटा बसमा मंगलबार राति आगलागी भएको छ। आगलागीका कारण तीनवटा बस जलेर पूर्णरूपमा नष्ट भएका छन् भने अन्य तीनवटा बसमा आंशिक क्षति पुगेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, आगलागीको कारण तार सर्ट भएको हुन सक्ने अनुमान गरिएको छ।
प्रहरीका अनुसार, कृष्ण बस को. १ख ६२७४ नम्बरको बस पूर्ण रूपमा जलेर नष्ट भएको छ। साथै, प्र. १–०१–००१ ख ४०३७ नम्बरको कन्काइ यातायात, र बा. ४ ख ५७५९ नम्बरको पाथिभरा दर्शन बस पनि पूर्ण रूपमा जलेको पुष्टि भएको छ। अन्य बसहरू, को. १ ख ३८४७ नम्बरको सुपर मादेन, बा. ५ ख ५८१४ र बा. ५ ख ५८०९ नम्बरको बसमा आंशिक क्षति पुगेको छ।
डीएसपी चन्द्र खड्का अनुसार, आगलागीको कारण अनुसन्धान भइरहेको छ। उनले बताए, “प्रारम्भिक अनुसन्धानका क्रममा व्यक्तिले आगजनी गरेको जस्तो देखिँदैन। बसभित्रै तार सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान छ। सीसी टिभी फुटेज हेर्दा कुनै शंकास्पद गतिविधि देखिएको छैन। थप अनुसन्धान जारी छ।”
उनका अनुसार, को. १ ख ६२७४ नम्बरको बसबाट आगो सुरु भएको थियो। यो बस विराटनगर–धरान रुटमा चल्दै आएको थियो र एक महिनाअघि पनि यसै बसमा आगलागी भएको थियो। “विराटनगर–धरान रुटमा चल्ने ६२७४ नम्बरको बसमा पहिले पनि आगलागी भएको थियो। राति ९ बजेतिर यो बस ग्यारेजमा प्रवेश गरेको देखिन्छ र साढे ९ बजेबाट आगलागी सुरु भएको थियो। प्रहरीलाई करिब १० बजे मात्रै जानकारी प्राप्त भएको थियो,” उनले भने।
पुलिस र आगो नियन्त्रण टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ। यस घटनाले यात्रु र ग्यारेज मालिकहरूमा त्रास फैलाएको छ। आगलागीको कारण र क्षतिको पूर्ण विवरण पत्ता लाग्न अझै केही समय लाग्ने देखिन्छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






