कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्ला खोलामा पुल नहुँदा स्थानीय बासिन्दाको सास्ती र माग
- कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्ला खोलामा पुल नहुँदा स्थानीय बासिन्दा वर्षौंदेखि सास्ती खेप्दै आएका छन्।
- बर्सातका बेला आएको बाढीले खोलालाई पार गर्न मुस्किल हुन्छ भने हिउँदको समयमा खाल्डाखुल्डी र चिप्ला ढुङ्गाले दुर्घटना हुने खतरा बढी हुन्छ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्ला खोलामा पुल नहुँदा स्थानीय बासिन्दा वर्षौंदेखि सास्ती खेप्दै आएका छन्। बर्सातका बेला आएको बाढीले खोलालाई पार गर्न मुस्किल हुन्छ भने हिउँदको समयमा खाल्डाखुल्डी र चिप्ला ढुङ्गाले दुर्घटना हुने खतरा बढी हुन्छ। यस कारणले गर्दा स्थानीयहरूलाई दैनिक जीवनमा निकै असजिलो र जोखिमपूर्ण अवस्थाका बीच जीवनयापन गर्नुपरेको हो।
पुल निर्माणका लागि पटकपटक माटो परीक्षण र सर्वेक्षण गरिए पनि हालसम्म कुनै पनि ठोस निर्माण कार्य अगाडि बढ्न सकेको छैन। स्थानीय बासिन्दाहरूको भनाइ अनुसार, निर्वाचनको अवधिमा राजनीतिक दलका प्रतिनिधिहरू फित्ता बोकेर नदीको दूरी नाप्ने र माटो परीक्षण गर्न प्राविधिक टोली खटाउने कार्य गर्छन्, तर चुनाव सकिएपछि कोही पनि फर्केर आउँदैनन्। दशकौँदेखि यस समस्या समाधानको लागि पटक-पटक माग गरिए पनि यसको कुनै सुनुवाइ भएको छैन।
बोल्नेहरूका अनुसार, पुल नहुँदा विशेषगरी बर्सातका बेला ठूलो समस्या हुने गरेको छ। खोलामा पानी घटेपछि मात्र मानिसहरू नदी पार गर्न सक्ने गर्छन्, नभए कहिलेकाहीँ बाटै फर्किनुपर्ने बाध्यता आउँछ। यस वर्ष मात्रै बगेर दुई जना ज्यान जाने अवस्था आएको थियो, तर समयमै उद्धार गर्न सफल भएर ज्यान जोगिएको उनीहरू बताउँछन्।
स्थानीय गोविन्द मालले भने, विद्यालय जाने बालबालिका सबैभन्दा बढी प्रभावित हुने गरेको बताएका छन्। बर्सातको समयमा बालबालिकालाई खोला पार गर्न निकै कठिनाइ हुन्छ। कहिलेकाहीँ खोलाको पानी घट्दासम्म रातभर पर्खनुपर्छ। विद्यालयबाट छुट्टी भएर आएपछि पनि खोलाको डिलमै ढुकेर बस्नुपर्ने बाध्यता रहेको उनीहरूको भनाइ हो।
माधवी नेपालीले भनिन्, “चुरे क्षेत्रअन्तर्गत पर्ने उक्त खोलामा बर्सातका बेला बाढी आउँछ र दुवै किनार भरिन्छ। हिउँदमा पानी घटे पनि खोलामा बनेका खाल्डाखुल्डी र चिप्ला ढुङ्गाका कारण दुर्घटनाको जोखिम रहन्छ।” यस कारणले गर्दा यहाँका बासिन्दाहरूलाई दैनिक जीवनमा ठूलो जोखिम र असजिलोको सामना गर्नुपरेको छ।
यो खोलालाई तरेर शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडी, पिलरीफाँटा, कृष्णपुर–१ दोमिल्ला, सुन्दरीफाँटा, पहरीया र श्रीपुर गाउँका बासिन्दाहरू ओहरदोहर गर्ने गर्दछन्। यस बाटो भएर नायल पर्यटकीय क्षेत्रसम्म पुग्ने आन्तरिक पर्यटकहरूको आवागमन पनि हुन्छ। तर बर्सातका बेला खोला तर्न नसक्दा दोमिल्ला, सुन्दरीफाँटा, पहरीयालगायतका बासिन्दाले लामो वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ।
स्थानीय बासिन्दाले लामो समयदेखि पुल निर्माणको माग गर्दै आएका छन्। यदि पुल बनेर गए, भने विद्यालय जाने विद्यार्थी, बिरामी, किसान तथा सर्वसाधारणको आवतजावत सहज हुनेछ। साथै, आर्थिक गतिविधि पनि तीव्र हुने उनीहरूको भनाइ छ। यस समस्या समाधानका लागि सरकारले चाँडो ध्यान दिन आवश्यक रहेको उनीहरूको माग छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






