चक्रवात अर्नबको प्रभावः भारतमा तीन जनाको मृत्यु, नेपालका पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना
- काठमाडौं ।
- भारतको आन्ध्र प्रदेशमा चक्रवात अर्नबका कारण तीन जनाको मृत्यु भएको छ भने ३० घरमा क्षति पुगेको छ।
काठमाडौं । भारतको आन्ध्र प्रदेशमा चक्रवात अर्नबका कारण तीन जनाको मृत्यु भएको छ भने ३० घरमा क्षति पुगेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार चक्रवातबाट राज्यका ७१४ गाउँ प्रभावित भएका छन्।
२८ अक्टोबर २०२६ को बिहान आन्ध्र प्रदेशको तटीय क्षेत्रमा प्रवेश गरेको अर्नबले तीव्र हावाहुरी र भारी वर्षा गराएको छ। भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार चक्रवात बिहान करिब १:२० बजे काकीनाडानजिकै जमिनमा प्रवेश गर्न थालेको थियो। उक्त क्षेत्र यानमको दक्षिणमा र बापटला तथा विशाखापट्टनमको बीचमा पर्छ।
चक्रवातका कारण आन्ध्र प्रदेशका विभिन्न जिल्लामा घरका छाना उडेका छन् भने रुख र बिजुलीका खम्बा ढलेका छन्। तटीय क्षेत्रका होचा भूभाग डुबानमा परेका छन्। ओडिशाका दक्षिणी जिल्लामा पनि तीव्र हावाहुरी र भारी वर्षा भइरहेको छ।
प्रभावित क्षेत्रमा धानबाली डुबानमा परेको छ। बाढीको जोखिमलाई ध्यानमा राख्दै १६७ गाउँमा चेतावनी जारी गरिएको छ।
कमजोर हुँदै चक्रवात अर्नब
चक्रवातको निरन्तर हावाको गति प्रतिघण्टा १२५ देखि १३५ किलोमिटर पुगेको थियो भने हावाको झोक्का प्रतिघण्टा १५० किलोमिटरसम्म पुगेको बताइएको छ।
जमिनमा प्रवेश गरेपछि चक्रवातको गति घट्न थालेको छ। त्यससँगै यसको वर्गीकरण ‘अत्यन्त भीषण चक्रवाती आँधी’बाट घटाएर ‘भीषण चक्रवाती आँधी’मा झारिएको छ। दिउँसोसम्म यो सामान्य चक्रवाती आँधीमा कमजोर हुने र साँझसम्म गहिरो न्यूनचापीय प्रणालीमा परिणत हुने अनुमान छ।
नेपालका पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना
चक्रवातको बाहिरी घेराका बादल नेपालसम्म आइपुग्ने र माथिल्लो वायुमण्डलीय प्रणालीसँग मिसिएपछि वर्षा तथा हिमपात हुन सक्ने मौसमविद्हरूले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार यसको प्रभावका संकेत आजैदेखि देखिन सक्छन्। बिहीबार रातिदेखि उच्च हिमाली क्षेत्रमा हिमपात र अन्य स्थानमा वर्षा हुने सम्भावना छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यम वर्षा वा हिमपात हुन सक्नेछ। एक–दुई स्थानमा भने भारी वर्षा वा हिमपातको सम्भावना रहेको महर्जनले बताइन्।
उनले उच्च हिमाली क्षेत्रमा नजान, गइसकेका व्यक्तिलाई सुरक्षित स्थानतर्फ झर्न र जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेकी छन्।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






