कोलकातामा दुर्गा पूजा पण्डाल नजिक भागदौड: १९ जनाको मृत्यु, २५ घाइते
- कोलकाता ।
- भारतको पश्चिम बङ्गाल राज्यको राजधानी कोलकातामा दुर्गा पूजा पर्वका क्रममा भएको भागदौडमा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।
कोलकाता । भारतको पश्चिम बङ्गाल राज्यको राजधानी कोलकातामा दुर्गा पूजा पर्वका क्रममा भएको भागदौडमा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।
अधिकारीहरूका अनुसार शनिबार राति वर्षा सुरु भएपछि मण्डप नजिक भेला भएका मानिसहरू ओत लाग्न दौडिँदा भागदौड मच्चिएको हो। केही भक्तजन सडकमा लडेपछि भीड अनियन्त्रित बनेको प्रहरीले जनाएको छ।
घाइतेहरूको कोलकाता मेडिकल कलेज तथा अस्पतालमा उपचार भइरहेको छ। अस्पताल पुगेका मुख्यमन्त्री सुभेन्दु अधिकारीले १९ जनाको मृत्यु भएको र २५ जनाको उपचार जारी रहेको जानकारी दिए। घटनाको छानबिन गर्न राज्यको उच्च अदालतका न्यायाधीशको नेतृत्वमा विशेष अनुसन्धान टोली गठन गरिने उनले बताए।
प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ। केही दुर्गा पूजा मण्डपका आयोजक, निजी सुरक्षाकर्मी र ड्युटीमा खटिएका कर्मचारीलाई हिरासतमा लिइएको छ। भीड व्यवस्थापन तथा सुरक्षामा कमजोरी भए–नभएकोबारे अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्।
दुर्गा पूजा पर्वका लागि कोलकाताभरि स्थानीय रूपमा ‘पण्डाल’ भनिने करिब तीन हजार पाँच सय मण्डप निर्माण गरिएका छन्। घटनापछि अधिकारीहरूले अत्यधिक भीड हुने स्थलहरू अस्थायी रूपमा बन्द गर्न आयोजकहरूलाई सुझाव दिएका छन्।
भारतमा ठूला धार्मिक पर्वका क्रममा भीड अनियन्त्रित हुँदा भागदौडका घटना बारम्बार हुने गरेका छन्। यस्ता पर्वमा सीमित क्षेत्रमा लाखौँ मानिस भेला हुने गरे पनि सुरक्षा र भीड व्यवस्थापन पर्याप्त नहुने गरेको छ।
यसअघि सन् २०२५ जनवरीमा महाकुम्भ पर्वका क्रममा पवित्र नदीमा स्नान गर्न हजारौँ तीर्थयात्री एकैपटक अघि बढ्दा कम्तीमा ३० जनाको मृत्यु भएको थियो। त्यस्तै, सन् २०१३ मा मध्य प्रदेशको एउटा मन्दिरमा धार्मिक पर्वका क्रममा पुल भत्किने हल्लापछि तीर्थयात्रीहरू आत्तिँदा भएको भागदौडमा कम्तीमा ११५ जनाको मृत्यु भएको थियो। त्यतिबेला केही मानिस नदीमा डुबेर मरेका थिए।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






