नेपालमा जेन–जी आन्दोलन: भ्रष्टाचार, कुशासन र जवाफदेहिता अभावको परिणाम
- काठमाडौं – त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा.
- डा.
काठमाडौं – त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा.डा. खड्ग केसीले नेपालमा भएको जेन–जी आन्दोलनलाई भ्रष्टाचार, कुशासन र जवाफदेहिताको अभावको परिणाम भएको बताए। शनिबार काठमाडौं कीर्तिपुरमा आयोजित ‘जेन–जी आन्दोलनपछिको नेपालको राजनीतिक पद्धति र परराष्ट्र नीति’ विषयक गोष्ठीमा प्रमुख वक्ता को रूपमा उनले यस्तो धारणा व्यक्त गरेका हुन्।
गोष्ठीमा बोल्दै प्रा.डा. केसीले अहिलेको नेपाली राजनीति आईडियोलोजीभन्दा बढी सुशासन र जवाफदेहिता आवश्यक रहेको बताए। उनले भन कि, “भदौ २३ र २४ गतेको जेन–जी आन्दोलन मास फ्रस्टेसन (असंतुष्टि) को परिणाम हो। युवाले डिजिटल प्लेटफर्ममार्फत सपना देखेका थिए, तर निराश भएर आन्दोलन गर्नुपरेको हो।”
प्रा. केसीले नेपालका नेताहरू पारदर्शिता र अनुशासन पालनामा असफल भएको बताए। “यही कारण भ्रष्टाचार मौलाएको हो। हामी १००० देखि १५०० डलर प्रतिव्यक्ति आम्दानी गर्छौं, तर हाम्रो सपना ४० हजार डलर जस्ता धनी राष्ट्र बन्ने हो। यसले देखाउँछ कि, हामी अझै धनी हुन सकेका छैनौं,” उनले भने।
उहाँले नेपालमा ‘नेपो बेबी’ र ‘नेपोटिजम’ जस्ता प्रवृत्तिहरूले युवामा आक्रोश बढाएको उल्लेख गर्दै भने, “राजनीतिमा जवाफदेहिता नहुँदा भ्रष्टाचार बढ्छ। यसले समाजमा असमानता र अन्यायलाई जन्म दिएको हो।”
गएको आन्दोलनलाई उनले जायज भने पनि त्यसको तोडफोड र आगजनीलाई अस्वीकार्य बताए। “जसले त्यो विध्वंस गरे, संलग्न भए, तिनीहरूलाई कानुनी कारबाही हुनुपर्छ,” उनले जोड दिए।
प्रा. केसीले देशको परिवर्तनका लागि पुराना नेताहरूलाई चुनावमा हराउन आह्वान गरे। “संविधानमा समाजवाद र साम्यवादको कुरा गरेर दलाल पुँजीवादको वकालत भइरहेको छ। खराब नेताहरूलाई अब हराउनैपर्छ,” उनले भने।
उनले नयाँ पुस्तालाई देशप्रति माया र जिम्मेवारीको चेतना जगाउनुपर्नेमा जोड दिए। “विदेशी मित्रहरूसँग संगत गर्दा हाम्रो देशप्रति माया नबिर्सौं। देश अझै सुधार गर्न सकिन्छ। त्यसका लागि संस्कार निर्माण, सुशासन र भ्रष्टाचारविरुद्ध कठोर अभियान आवश्यक छ,” उनले बताए।
अन्त्यमा, प्रा. केसीले युवालाई देशको गौरवगाथा पढ्न र देशप्रति गर्व जगाउन प्रेरित गरे। “अबको चुनौती संस्कार निर्माण हो। युवालाई देशप्रति गर्व र जिम्मेवारीको भावना जागरूक गर्नुपर्छ,” उनले निष्कर्ष निकाल्नुभयो।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






