कन्दरा ब्यान्डले कन्सर्टमार्फत २१ लाख रुपैयाँ राहत कोषमा हस्तान्तरण, बाढी पीडितलाई सहयोग
- काठमाडौँ ।
- नेपाली संगीत समूह कन्दरा ब्यान्डले बाढी पीडित नेपाली जनता हेतु ठूलो सहयोग जनाउँदै २१ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेको छ।
काठमाडौँ । नेपाली संगीत समूह कन्दरा ब्यान्डले बाढी पीडित नेपाली जनता हेतु ठूलो सहयोग जनाउँदै २१ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेको छ। यस आर्थिक सहयोगको व्यवस्था बिएनएम (BNM) द्वारा आयोजना गरिएको थियो, जसको नेतृत्व र आह्वान कन्दरा ब्यान्डका संस्थापक र गायक विवेक श्रेष्ठले गरेका थिए। यस कार्यक्रममा अमेरिकाको एटलान्टा स्थित नेपाली समुदाय, संघ–संस्था, व्यवसायी, कलाकार र शुभेच्छुकहरूको सक्रिय सहभागिता रहेको थियो।
कन्दरा ब्यान्डले आफ्नो सामाजिक संजालमार्फत जानकारी गराउँदै उल्लेख गरेको छ कि उक्त रकम नेपलिज एसोसिएसन अफ जर्जियाको बैंक खाताबाट प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरिएको हो। यो सहयोग बाढी पीडित नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको राहत, उद्धार र पुनर्स्थापनाका लागि समर्पित गरिएको छ।
विवेक श्रेष्ठले भने, “संकटको यस घडीमा हामीले संगीतलाई मनोरञ्जनबाट सेवातर्फ मोड्ने निर्णय गर्यौँ। नेपाली दाजुभाइ–दिदीबहिनीको एकता, माया र सहयोगले यो सम्भव भयो।” उनले थपे, “संगीतलाई दुःखको घडीमा मल्हम बनाउने माध्यम बनाउने हाम्रो प्रयास छ।”
गत ७ अगस्टदेखि अमेरिका भ्रमणमा रहेको कन्दरा ब्यान्डले बोस्टन शहरबाट आफ्नो “रिदम अफ चेंज” नामक सांगीतिक टुर सुरु गरेको हो। यस टुरको क्रममा उनीहरूले आगामी ३० सेप्टेम्बरसम्म दुई महिना लामो यात्रा गर्दैछन्। टुरको बाँकी दुई सहर—वर्जिनिया र कोलोराडोमा पनि ब्यान्डले भोटेकोशी–त्रिशूलीको विनाशकारी बाढीले प्रभावित परिवार र समुदायप्रति समर्थन जनाउने योजना बनाएको छ।
यो अभियान नेपाली संगीत र समाजसेवाको मेलजोलको उत्कृष्ट उदाहरण हो, जसले नेपाली समुदायमा एकता र सहयोगको भावना जगाएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






