रौतहट गौरमा साम्प्रदायिक तनाव समाप्त, शान्ति सद्भाव र्यालीले विश्वास पुनःस्थापना गर्दै
- रौतहट – रौतहटको सदरमुकाम गौरमा केही दिनदेखि देखिएको साम्प्रदायिक तनाव अब समाप्त हुँदै गएको छ।
- गत बिहीबार राति गौर नगरपालिका–६ सबगढास्थित मस्जिद नजिकै बाजा बजाउँदै जन्ती जाने विषयमा दुई समुदायबीच भएको विवादले हिंसात्मक रुप लिएका थिए, जसले क्षेत्रलाई तनावग्रस्त बनाएको थियो।
रौतहट – रौतहटको सदरमुकाम गौरमा केही दिनदेखि देखिएको साम्प्रदायिक तनाव अब समाप्त हुँदै गएको छ। गत बिहीबार राति गौर नगरपालिका–६ सबगढास्थित मस्जिद नजिकै बाजा बजाउँदै जन्ती जाने विषयमा दुई समुदायबीच भएको विवादले हिंसात्मक रुप लिएका थिए, जसले क्षेत्रलाई तनावग्रस्त बनाएको थियो। तर, अहिले स्थिति पूर्ण रुपमा नियन्त्रणमा आएको र समुदायबीचको विश्वास पुनःस्थापना गर्न नागरिक समाजको पहलमा सोमबार विशाल शान्ति र्याली आयोजना गरिएको छ।
यस शान्ति र्यालीमा हिन्दु र मुस्लिम समुदायको उत्साहजनक सहभागिता देखिएको थियो। स्थानीय प्रशासन, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रतिनिधिहरू र सर्वसाधारणको संयुक्त सहभागितामा यो र्याली सम्पन्न भएको हो। सबगढाको मुख्य सडकबाट सुरु भएको र्यालीले प्रभावित बस्तीहरूको परिक्रमा गर्दै आपसी भाइचारासहित सद्भावको सन्देश प्रवाह गरेको थियो। यस कार्यक्रमले समुदायबीचको अविश्वास र आशङ्कालाई हटाउँदै पुनः मैत्रीपूर्ण वातावरण निर्माण गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको सहभागीहरूले बताएका छन्।

साम्प्रदायिक तनाव बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले शनिबार दिउँसो १ बजेबाट अनिश्चितकालीन कर्फ्यु जारी गरेको थियो। तर, नागरिक समाजको पहल र सुरक्षाको अवस्थाको सुधारपछि प्रशासनले सोमबार बिहान ६ देखि १० बजेसम्म कर्फ्यु खुकुलो बनाएको हो। सुरक्षा अवस्थाको विश्लेषणपछि कर्फ्यु पूर्ण रुपमा हटाउने वा निरन्तरता दिने निर्णय गर्न सुरक्षा निकायहरू छलफल गरिरहेका छन्, प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिए।
कर्फ्यु खुकुलो भएसँगै बजार र सडकमा सर्वसाधारणको चहलपहल सुरु भएको छ। यसैबीच, नागरिक समाजका अध्यक्ष जगन्नाथ प्रसाद केसरीको नेतृत्वमा सम्पन्न भएको सद्भाव र्यालीमा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, नारायण दल गणका कर्णेल विश्वास विष्ट, नेपाल प्रहरीका एसपी सीताराम रिजाल, सशस्त्र प्रहरीका एसपी रामहरी अधिकारी र राष्ट्रिय अनुसन्धानका उपनिर्देशक कुमार बुढाथोकी लगायतका अधिकारीहरू सहभागी थिए। स्थानीय अगुवाहरुले कुनै पनि प्रकारको उत्तेजनामा नलाग्न र सामाजिक सद्भाव बिग्रने गतिविधिहरूमा संलग्न नहुन सबैलाई आग्रह गरेका छन्।
यस घटनाले समुदायबीचको विश्वास र भाइचाराको पुनःस्थापना गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ, जसले लामो समयसम्मको तनावको अन्त्य गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






