सर्वोच्च अदालतको फूलकोर्ट बैठक: समाचारबारे निष्पक्ष छानबिन गर्न आग्रह
- काठमाडौं ।
- सर्वोच्च अदालतको फूलकोर्ट बैठकले प्रधानन्यायाधीश तथा अन्य न्यायाधीशसँग सम्बन्धित प्रकाशित र प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
काठमाडौं । सर्वोच्च अदालतको फूलकोर्ट बैठकले प्रधानन्यायाधीश तथा अन्य न्यायाधीशसँग सम्बन्धित प्रकाशित र प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सोमबार बसेको बैठकले संविधान र कानुनको सर्वोच्चताप्रति आफ्नो अटल आस्था र प्रतिबद्धता रहेको स्पष्ट पारेको हो।
सर्वोच्च अदालतका प्रवक्ता डा. अशोककुमार क्षेत्रीद्वारा जारी विज्ञप्तिमा संविधानको सर्वोच्चता र कानुनको शासनप्रति गम्भीर हुन सबैलाई आग्रह गरिएको छ।
बैठकले सार्वजनिक रूपमा आएका विषयमा पूर्वाग्रहरहित, निष्पक्ष र स्वतन्त्र ढंगले संविधान तथा कानुनबमोजिम छानबिन गर्न सम्बद्ध निकायलाई अनुरोध गरेको छ। छानबिनबाट प्राप्त सत्यतथ्यसहितको निष्कर्ष यथाशीघ्र सार्वजनिक गर्न पनि विज्ञप्तिमा भनिएको छ।
सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारबारे हुने छानबिन र अनुसन्धानमा कानुनबमोजिम निर्वाह गर्नुपर्ने जवाफदेहिता पूरा गर्न र आवश्यक सहयोग गर्न आफूहरू प्रतिबद्ध रहेको सर्वोच्च अदालतले जनाएको छ।
न्यायपालिका जनताको आस्था र विश्वासमा आधारित संस्था भएकाले छानबिनको निष्कर्ष आउनुअघि कसैलाई लाञ्छित गर्ने वा न्याय सम्पादनमा अवरोध पुग्ने गरी समाचार प्रकाशन तथा प्रसारण नगर्न बैठकले आग्रह गरेको छ। यस्ता समाचारले सेवाग्राही र आमजनतामा भ्रम तथा नकारात्मक असर पर्न सक्ने भन्दै जिम्मेवार पत्रकारिता गर्न पनि विज्ञप्तिमार्फत अपिल गरिएको छ।
बैठकले समाचारबाट विचलित नभई नियमित रूपमा न्यायिक कार्यमा सक्रिय रहन सबै अदालतमा कार्यरत न्यायकर्मीहरूलाई आग्रह गरेको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






