एन्फा मुख्यालयको ताला खोलेर कार्यसमितिको बैठक बस्ने बहुमत सदस्यको तयारी
- काठमाडौं ।
- अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत कार्यसमिति सदस्यले मुख्यालयको ताला खोलेर बैठक बस्ने तयारी गरेका छन्।
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत कार्यसमिति सदस्यले मुख्यालयको ताला खोलेर बैठक बस्ने तयारी गरेका छन्। वरिष्ठ उपाध्यक्षसहित ११ सदस्यले लिखित माग गर्दा पनि अध्यक्षले बैठक नबोलाएपछि उनीहरू आफैं बैठकका लागि अघि बढेका हुन्।
एन्फा विधानको धारा ३१(२)अनुसार कार्यसमितिका एकतिहाइ वा सोभन्दा बढी सदस्यले लिखित माग गरेमा बैठक अनिवार्य रूपमा बोलाउनुपर्छ। यही व्यवस्थाअनुसार २२ दिनअघि बैठक बोलाउन माग गरिएको थियो।
तर, अध्यक्ष पंकजविक्रम नेम्बाङले २१ दिनसम्म बैठक नबोलाएपछि आफूहरू बैठक बस्ने निर्णयमा पुगेको वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले बताए। “विधानअनुसार बैठकका लागि हामीले २१ दिनसम्म कुर्यौँ। तर अध्यक्षज्यूले बैठक बोलाउनुभएन। अब मेरो नेतृत्वमा बैठक बोलाएर आवश्यक निर्णय गर्छौँ,” उनले अनलाइनखबरसँग भने।
ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयको ताला खोलेर १३ गतेका लागि बैठकको पत्राचार गर्ने तयारी रहेको एन्फा केन्द्रीय सदस्य टीकाराम लामाले जानकारी दिए। उनका अनुसार बैठक बसेपछि सरकार, एसियाली फुटबल महासंघ (एएफसी) र अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)लाई सहजीकरणका लागि पत्र लेखिनेछ।
खेल मिलेमतो तथा ठगीसम्बन्धी कसुरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को सिफारिसमा ललितपुर जिल्ला सरकारी वकिल कार्यालयले एन्फा अध्यक्ष नेम्बाङ, महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेविरुद्ध मुद्दा चलाएको थियो।
जोशी र पाण्डे धरौटीमा छुटेका छन् भने नेम्बाङ र राई अदालतमा उपस्थित भएका छैनन्। तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले जुन २४ देखि एन्फालाई निलम्बन गरेको छ।

प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






