जोर्डनको काराकस्थित चर्चमा गोलीकाण्ड: सात जनाको मृत्यु, ४० घाइते
- जोर्डन — जोर्डनको काराक सहरस्थित ग्रिक अर्थोडक्स चर्चमा अन्त्येष्टि भइरहेका बेला भएको गोलीकाण्डमा सात जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्।
- शुक्रबार भएको घटनामा घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन्।
जोर्डन — जोर्डनको काराक सहरस्थित ग्रिक अर्थोडक्स चर्चमा अन्त्येष्टि भइरहेका बेला भएको गोलीकाण्डमा सात जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्। शुक्रबार भएको घटनामा घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन्।
राजधानी अम्मानबाट करिब १८० किलोमिटर दक्षिणमा रहेको चर्चमा गोलीबारी भएको हो। सरकारी टेलिभिजनमा प्रसारित दृश्यमा पिस्तोल बोकेका जस्ता देखिने दुई व्यक्ति चर्चतर्फ अघि बढेर गोली चलाएको देखिन्छ। त्यसपछि अर्धस्वचालित राइफलजस्तो हतियार बोकेको अर्को व्यक्ति पनि त्यहाँ पुगेर गोली चलाएको दृश्यमा देखिएको छ।
प्रत्यक्षदर्शीले खिचेको भिडियोमा चर्चको भुइँमा फुटेका सिसाका टुक्रा र रगत देखिन्छ। अन्त्येष्टिमा सहभागी डोरघम हलासाका अनुसार कार्यक्रम सुरु भएको करिब १५ मिनेटपछि गोलीबारी भएको थियो। उनले घटनालाई भयावह बताउँदै गोली चल्न थालेपछि मानिसहरू ज्यान जोगाउन यताउता भागेको बताए।
सरकारी विज्ञप्तिमा आक्रमण अज्ञात व्यक्तिहरूले गरेको उल्लेख छ। तर आक्रमणकारीको सङ्ख्या, उनीहरूको अवस्था वा पक्राउ परे–नपरेकोबारे अधिकारीहरूले विस्तृत जानकारी दिएका छैनन्। घटनाको अनुसन्धान तीव्र पारिएको जनाइएको छ।
पेट्रा समाचार एजेन्सीका अनुसार सरकारले घटनापछि तीनदिने राष्ट्रिय शोक घोषणा गरेको छ। काराकमा अल्पसङ्ख्यक इसाई समुदायको बसोबास छ।
जोर्डनका राजा अब्दुल्लाह द्वितीयले घटनाको निन्दा गर्दै दोषीलाई कडा सजाय दिइने बताएका छन्। प्रधानमन्त्री जाफर हसनले आक्रमणलाई आतङ्कवादी विचारधारा र अतिवादको परिणाम भन्दै दोषीमाथि कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्।
लेबनान, सिरिया, इजिप्ट र ओमानलगायत देशले पनि घटनाको निन्दा गरेका छन्। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आक्रमणलाई जघन्य घटना भन्दै जिम्मेवार व्यक्तिहरूको पहिचान गरी जवाफदेही बनाउन आह्वान गरेका छन्।
यसअघि सन् २०१६ मा पनि काराकमा बन्दुकधारीहरूले प्रहरी र पर्यटकलाई लक्षित गरी आक्रमण गरेका थिए। उक्त घटनामा सात प्रहरीसहित १० जनाको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






