विराटनगरमा जाइकाको खानेपानी आयोजना सम्पन्न, दसैँअघि वितरण सुरु गर्ने तयारी
- विराटनगर ।
- जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को करिब २ अर्ब ५४ करोड रुपैयाँ अनुदानमा निर्माण भएको विराटनगर खानेपानी आयोजना सम्पन्न भएको छ।
विराटनगर । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को करिब २ अर्ब ५४ करोड रुपैयाँ अनुदानमा निर्माण भएको विराटनगर खानेपानी आयोजना सम्पन्न भएको छ। विद्युत् जडानलगायतका केही प्राविधिक काम बाँकी रहेकाले आयोजना दसैँअघि सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
निर्माण सम्पन्न भएपछि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शनिबार आयोजनाको स्थलगत निरीक्षण गरे। देवकोटा चोकस्थित खानेपानी संस्थान परिसरमा निर्माण गरिएका संरचनाको निरीक्षणका क्रममा प्राविधिकहरूले पानी उत्पादन र प्रशोधन प्रक्रियाबारे जानकारी गराएका थिए।
नेपाल खानेपानी संस्थान विराटनगरका प्रमुख सन्तोष रौनियारका अनुसार मुख्य निर्माण कार्य सकिएको छ। बाँकी प्राविधिक काम तत्काल पूरा गरी नयाँ प्रणालीबाट पानी वितरण सुरु गर्ने तयारी छ। जाइकाले बिहीबार आयोजना औपचारिक रूपमा खानेपानी संस्थानलाई हस्तान्तरण गर्ने कार्यक्रम छ।
आयोजना सन् २०२६ अक्टोबरसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर जग्गा, सडक र विद्युत्सम्बन्धी समस्या समाधानमा महानगरपालिकाले सहजीकरण गरेपछि निर्धारित समयभन्दा करिब दुई वर्षअघि नै निर्माण सकिएको हो। निरीक्षणपछि मेयर कोइरालाले नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने प्रतिबद्धता पूरा हुने चरणमा पुगेको बताए। उनले आयोजनाबाट विराटनगरको खानेपानी सेवा थप भरपर्दो हुने विश्वास व्यक्त गरे।
आयोजना सञ्चालनमा आएपछि विराटनगरको दैनिक खानेपानी वितरण क्षमता हालको करिब ९० लाख लिटरबाट बढेर १ करोड लिटरभन्दा बढी पुग्नेछ। परियोजनाअन्तर्गत पानी उत्पादन, प्रशोधन र वितरण प्रणालीको क्षमता विस्तार गरिएको छ। साथै, पुराना संरचनाको सुधार, नयाँ ओभरहेड ट्याङ्की निर्माण, पाइपलाइन विस्तार र विद्युत् आपूर्ति क्षमता वृद्धि गरिएको छ।
देवकोटा चोक, तीनपैनी, मुनालपथ र विराटनगर–५ को कोचाखाल पश्चिममा रहेका संरचनाबाट पानी वितरण गरिनेछ। कोचाखाल पश्चिममा नयाँ ओभरहेड ट्याङ्की निर्माण गरिएको छ। पाइपलाइन र फिल्टर प्रणालीको क्षमता विस्तारसँगै उपभोक्ताले नियमित र गुणस्तरीय पानी पाउने अपेक्षा गरिएको छ। हाल खानेपानी संस्थानका विराटनगरमा करिब १३ हजार २०० ग्राहक छन्।
नयाँ आयोजनाले थप बासिन्दालाई खानेपानीको पहुँचमा ल्याउनुका साथै तीव्र रूपमा बढिरहेको जनसङ्ख्याको माग पूरा गर्न सहयोग गर्नेछ। विगतमा दूषित पानीका कारण विराटनगरमा जन्डिस फैलिँदा १४ जनाको मृत्यु भएको थियो। त्यस घटनालाई ध्यानमा राख्दै महानगरले अघि सारेको ‘शुद्ध खानेपानीसहितको व्यवस्थित विराटनगर’ निर्माणको लक्ष्यमा आयोजना महत्त्वपूर्ण कदम हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






