नवलपरासीको युवा मतदातामा उत्साह र जिज्ञासा, नयाँ पुस्ताले पहिलोपटक मतदान गर्न तयारी
- नवलपरासी – आगामी फाल्गुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै जिल्लाका युवा मतदातामा उत्साह र जिज्ञासा देखिएको छ।
- नयाँ पुस्ताले आफ्नो मताधिकार प्रयोग गर्दै लोकतान्त्रिक प्रक्रियामा प्रत्यक्ष सहभागिता जनाउने तयारीमा जुटेका हुन्।
नवलपरासी – आगामी फाल्गुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै जिल्लाका युवा मतदातामा उत्साह र जिज्ञासा देखिएको छ। नयाँ पुस्ताले आफ्नो मताधिकार प्रयोग गर्दै लोकतान्त्रिक प्रक्रियामा प्रत्यक्ष सहभागिता जनाउने तयारीमा जुटेका हुन्।
यसअघि धेरै युवाहरूले निर्वाचनलाई परिवारका वरिष्ठ व्यक्तिहरूको जिम्मेवारी भनेर हेर्दै आएका भए पनि, यसपटक उनीहरू स्वयं निर्णयकर्ता बन्ने चरणमा पुगेका छन्। सामाजिक सञ्जाल, बहस, छलफल र विद्यालय तथा क्याम्पसस्तरीय संवादमार्फत उनीहरू निर्वाचन, संविधान, शासन प्रणाली र नागरिक दायित्वबारे गहिरो बुझाइ प्राप्त गर्न खोजिरहेका छन्।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) का नयाँ मतदाताहरूले आफ्नो पहिलो मतलाई ‘व्यक्तिगत स्वार्थ’ भन्दा बढी ‘भविष्य निर्माण’को आधारमा प्रयोग गर्न चाहेको बताएका छन्। उनीहरूको मुख्य प्राथमिकतामा गुणस्तरीय शिक्षा, रोजगारी सृजना, पारदर्शी शासन व्यवस्था र नागरिक समस्याको बुझाइसम्बन्धी नेतृत्वको छनोट रहेको छ।
विनयी त्रिवेणी गाउँपालिका–१ का पवन ढेगामगर, जो पहिलो पटक मतदान गर्न पाउँदा धेरै उत्साहित भएको बताए। उनले भने, “दुर्गम गाउँ बगुवनको समस्या समाधान गर्न सक्षम उम्मेदवारलाई नै समर्थन गर्ने सोच बनाएको छु।”
अर्का युवाहरूले पनि निर्वाचनका लागि सचेतना र मतदाता शिक्षा कार्यक्रमलाई निकै सकारात्मक रुपमा लिएका छन्। जिल्लामा सञ्चालित विभिन्न नागरिक संस्थाहरूले पहिलोपटक मतदातालाई लक्षित गरी आयोजना गरेको संवाद र सचेतना कार्यक्रमले युवामाझ मतदानप्रति आत्मविश्वास बढाएको देखिएको छ।
कावासोती नगरपालिका–२ की १९ वर्षीया एञ्जल भुसालले भनिन्, “हामी अब दर्शक मात्र होइनौं, निर्णय प्रक्रियाका सहभागी हौं। हाम्रो मतले हाम्रो भविष्य निर्धारण गर्छ भन्ने चेतना आएको छ।” यस्तै, बुलिङटार गाउँपालिका–३ का सुमन थापाले भने, “हामीलाई भाषणभन्दा काम आवश्यक छ। युवालाई स्वदेशमै अवसर दिने नीति ल्याउने उम्मेदवारलाई समर्थन गर्ने सोच बनाएका छौँ।”
यसबीच, सामाजिक सञ्जालमा जिम्मेवार मतदानको सन्देश फैलाउन युवाहरूले “सोचेर मत हालौँ, भविष्य बनाऔँ” भन्ने नारालाई जोड दिएका छन्।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा पहिलो पटक मतदान गर्न लागेका युवाहरू फागुन २१ गतेको निर्वाचनप्रति उत्साहित रहेका छन्। जिल्ला निर्वाचन कार्यालयका प्रमुख लालप्रसाद शर्मा भुसालका अनुसार, यस वर्ष ९,०२३७ नयाँ मतदाता थपिएका छन्।
उनका अनुसार, सिधै नाम दर्ता गर्ने मतदाताको संख्या ३,१५३ र राष्ट्रिय परिचयपत्र प्रयोग गरी नाम दर्ता गराउनेको संख्या ६,०८४ रहेको छ। जिल्लामा कुल २ लाख ६८ हजार ५२६ मतदाता रहेको जानकारी पनि दिएका छन्। यस प्रकार, नयाँ पुस्ताका युवा मतदाताले आफ्नो मत प्रयोगलाई जीवनको महत्वपूर्ण अनुभव मान्दै, लोकतन्त्रको सशक्तिकरणका लागि उत्साहपूर्वक तयारी गरिरहेका छन्।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






