चार अर्ब ६२ करोडका दर्जनौँ पुल अलपत्र : कोशी प्रदेशका २२ मध्ये १९ पुलको प्रगति ५०% भन्दा कम
- काठमाडौँ ।
- कोशी प्रदेशका पहाडी तथा तराई जिल्लाहरूलाई जोड्ने महत्त्वपूर्ण सडक सञ्जालअन्तर्गत निर्माणाधीन पुलहरू अत्यन्तै सुस्त गतिमा अघि बढिरहेको पाइएको छ ।
काठमाडौँ । कोशी प्रदेशका पहाडी तथा तराई जिल्लाहरूलाई जोड्ने महत्त्वपूर्ण सडक सञ्जालअन्तर्गत निर्माणाधीन पुलहरू अत्यन्तै सुस्त गतिमा अघि बढिरहेको पाइएको छ । संघीय सरकारअन्तर्गत सडक विभागको पुल सेक्टर (धरान) मार्फत ४ अर्ब ६२ करोड ५३ लाख रुपैयाँमा सम्झौता भएका दुई दर्जन पुलमध्ये अधिकांशको प्रगति निराशाजनक छ ।
हालसम्म सबै पुलमा गरी १ अर्ब ५८ करोड ९९ लाख ३० हजार रुपैयाँ भुक्तानी भइसकेको छ, जुन कुल सम्झौताकाे ३४.३७ प्रतिशत मात्र हो। रणनीतिक पुलका ९ मध्ये धेरैको प्रगति झनै कमजोर छ । ती ९ पुलको ७६ करोड ९८ लाख रुपैयाँको ठेक्का सम्झौता भए पनि वित्तीय प्रगति १५ करोड २७ लाखमै सीमित छ ।
संख्यात्मक रूपमा धेरै रहेका स्थानीय पुलहरूको अवस्था पनि त्यति सुखद छैन। १३ स्थानीय पुलका लागि ३ अर्ब ८५ करोड ५५ लाख २० हजारमा ठेक्का सम्झौता भए पनि हालसम्म भुक्तानी १ अर्ब ४३ करोड ७१ लाख मात्रै पुगेको छ।
कार्यालयका तथ्यांक अनुसार, निर्माणाधीन २२ मध्ये केवल ३ वटाको मात्रै प्रगति सन्तोषजनक छ, बाँकी अधिकांश वर्षौँदेखि अल्झिएका छन्। पुल सेक्टर धरानका सूचना अधिकारी नवीन कुमार साहका अनुसार आधाभन्दा बढी पुलको भौतिक प्रगति ५० प्रतिशत पार गर्न सकेको छैन।
_MIHcerNbq0.jpg)
सबैभन्दा कमजोर प्रगति भएका पुलहरू
-
इलामको देउमाई खोलाको पुल — भौतिक प्रगति ९ प्रतिशत
-
उदयपुर–खोटाङ जोड्ने बन्सिलाघाट पुल — भौतिक ९ प्रतिशत, वित्तीय ११ प्रतिशत
-
तमोर कोरिडोरका नावा खोला, हेवा खोला, लोरिपा खोला, लाखुवा खोला पुल — औसत वित्तीय प्रगति १५.१७ प्रतिशत
-
ओखलढुंगाको दुधकोशी पुल — भौतिक प्रगति ० प्रतिशत, वित्तीय २ प्रतिशत
-
सुनकोशी (फोक्सिन्टार) पुल — केही खण्डको प्रगति शून्य
यीमध्ये धेरै ठेक्का लिएका निर्माण कम्पनीहरू लामो समयदेखि काम ओगटेर बसेको, बहाना बनाएको तथा कोभिडकालीन असर र भौगोलिक कठिनाइका कारण प्रगति प्रभावित भएको साह बताउँछन्।
राम्रो प्रगति भएका केही पुल
-
संखुवासभा–भोजपुर जोड्ने अरुण नदी (कात्तिके घাট) पुल — भौतिक प्रगति ९९ प्रतिशत
-
इलामको रिखुवा खोला पुल — ९० प्रतिशत
-
मोरङको तुर्के खोला पुल — ८५ प्रतिशत
साहका अनुसार, राम्रो काम गर्ने ठेकेदारलाई भुक्तानीमा समस्या छैन तर ढिलासुस्ती गर्ने ठेकेदारलाई बारम्बार ताकेता भइरहेको छ।
प्रदेशका मुख्य सहर र संघीय राजधानी जोड्ने महत्त्वपूर्ण पुलहरू समयमै नसक्दा स्थानीय बासिन्दाले सास्ती भोग्नुका साथै लागत पनि बढ्दै गएको छ।



प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






