मटिहानीमा सम्पन्न MPL सिजन–१ : जनकपुर–१७ कनकपट्टी १०३ रनको फराकिलो जितसहित च्याम्पियन
- महोत्तरीको मटिहानी नगरपालिका–७ स्थित मटिहानी रंगशालामा मटिहानी क्रिकेट टिमद्वारा आयोजित मटिहानी प्रिमियर लिग (MPL) सिजन–१, २०८२ आज एक भव्य एवं आकर्षक समारोहका बीच सफलतापूर्वक सम्पन्न भएको छ।
- महोत्तरी र धनुषा जिल्लाका गरी कुल १६ वटा क्रिकेट टोलीहरूको सहभागिता रहेको यस प्रतियोगिताले स्थानीयस्तरमा खेलकुद विकास र प्रतिभा परिचय गराउन ठूलो योगदान पुर्याएको आयोजकले जनाएको छ।
महोत्तरीको मटिहानी नगरपालिका–७ स्थित मटिहानी रंगशालामा मटिहानी क्रिकेट टिमद्वारा आयोजित मटिहानी प्रिमियर लिग (MPL) सिजन–१, २०८२ आज एक भव्य एवं आकर्षक समारोहका बीच सफलतापूर्वक सम्पन्न भएको छ। महोत्तरी र धनुषा जिल्लाका गरी कुल १६ वटा क्रिकेट टोलीहरूको सहभागिता रहेको यस प्रतियोगिताले स्थानीयस्तरमा खेलकुद विकास र प्रतिभा परिचय गराउन ठूलो योगदान पुर्याएको आयोजकले जनाएको छ।
प्रतियोगिताको फाइनल खेल विशेष रूपमा रोमाञ्चक र प्रतिस्पर्धात्मक रह्यो। फाइनलमा जनकपुर उप–महानगरपालिका–१७ कनकपट्टी र औरही गाउँपालिका–३ विक्रमपूर, धनुषाबीच भिडन्त भएको थियो। खेलमा जनकपुर–१७ कनकपट्टीले उत्कृष्ट ब्याटिङ र बलिङ प्रदर्शन गर्दै औरही–३ विक्रमपूरलाई १०३ रनको विशाल अन्तरले पराजित गर्दै MPL सिजन–१ को ऐतिहासिक उपाधि जित्न सफल भयो।
समापन तथा पुरस्कार वितरण समारोहका प्रमुख अतिथि मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मंडलले विजेता टोलीलाई आकर्षक ट्रफी, नगद पुरस्कार तथा मेडल प्रदान गर्नुभयो। यस्तै उप–विजेता टोली, उत्कृष्ट खेलाडी, अम्पायर, कमेन्टेटर तथा प्रतियोगिताको सफलतामा सहयोग पुर्याउने सम्पूर्ण सदस्यहरूलाई टिका, मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो।
कार्यक्रममा लोसपा नेपालका नगर अध्यक्ष श्याम कुमार मंडल तथा नेपाली कांग्रेसका नेता बैजनाथ मंडलले उप–विजेता टोलीलाई पुरस्कार प्रदान गर्नुभयो।
आयोजक मटिहानी क्रिकेट टिमले MPL सिजन–१ सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण नगरवासी, खेल प्रेमी, स्थानीय निकाय, सुरक्षाकर्मी तथा स्वयम्सेवकहरू प्रति हार्दिक आभार व्यक्त गरेको छ। आयोजकले आगामी वर्ष अझ व्यापक सहभागिता र उत्कृष्ट व्यवस्थापनसहित MPL सिजन–२ आयोजना गर्ने प्रतिबद्धतासमेत जनाएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






