सिरहामा विद्युत् सर्ट हुँदा दुई स्थानमा आगलागी, चार पशुचौपाया सहित गोठघर नष्ट
- सिरहा ।
- सिरहाका दुई छुट्टाछुट्टै स्थानमा विद्युत् सर्ट भएर आगलागी हुँदा घरगोठ, अन्नपात र भाँडाकुँडासहितका सामग्री जलेर नष्ट भएका छन्।
सिरहा । सिरहाका दुई छुट्टाछुट्टै स्थानमा विद्युत् सर्ट भएर आगलागी हुँदा घरगोठ, अन्नपात र भाँडाकुँडासहितका सामग्री जलेर नष्ट भएका छन्। आगलागीमा एउटा भैँसी र तीनवटा गोरु गरी चार पशुचौपायाको मृत्यु भएको छ। दुवै घटनामा मानवीय क्षति भएको छैन।
गोलबजार नगरपालिका–३, नेवारकुनीस्थित चोरपानेमा गंगा बहादुर सुनुवारको घरगोठमा शुक्रबार राति करिब १२ बजे विद्युत् मिटरमा सर्टसर्किट हुँदा आगलागी भएको हो। आगलागीमा एउटा गोरुको मृत्यु भएको छ। करिब पाँच क्विन्टल अन्नबाली, भाँडाकुँडा र अन्य सामग्रीसहित घरगोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ।
इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक दीपक खरेलका अनुसार प्रहरी टोली घटनास्थल पुगेर क्षतिको विवरण संकलन गरिरहेको छ। मुचुल्का तयार भएपछि मात्रै क्षतिको यकिन विवरण दिन सकिने उनले बताए।
त्यस्तै, विष्णुपुर गाउँपालिका–४, थल्हा बथान टोलमा बिहीबार राति करिब १ः३० बजे विद्युत्को तार सर्ट भएर आगलागी भएको थियो। स्थानीय ४७ वर्षीय वीरेन्द्र यादवको बाँसको टाटीले घेरिएको र फुसको छानो भएको एकतले गोठ तथा भान्सा घरमा आगलागी हुँदा एउटा भैँसी र दुईवटा गोरुको मृत्यु भएको प्रहरीले जनाएको छ। घरभित्रका अन्नपात, भाँडाकुँडा र अन्य सामग्री पनि जलेर नष्ट भएका छन्।
आगलागीको खबर पाएपछि प्रहरी चौकी बेल्हाबाट खटिएको टोली र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका थिए। विष्णुपुरको घटनामा प्रारम्भिक विवरणअनुसार करिब पाँच लाख रुपैयाँ बराबरको क्षति भएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






