हरिपुर्वामा अब भरतपुर आँखा अस्पतालको विशेषज्ञ सेवा उपलब्ध
- सर्लाही – नेत्र ज्योति सङ्घ अन्तर्गत संचालित भरतपुर आँखा अस्पतालको सेवा अब हरिपुर्वामा पनि सुरु भएको छ।
- हरिपुर्वा नगरपालिका–२, स्थित नगर अस्पताल भवनबाट हीरालाल सन्तुदेवी प्रधान नेत्र विज्ञान अध्ययन संस्थानसँगको समन्वयमा सेवा विस्तार गरिएको हो।
सर्लाही – नेत्र ज्योति सङ्घ अन्तर्गत संचालित भरतपुर आँखा अस्पतालको सेवा अब हरिपुर्वामा पनि सुरु भएको छ। हरिपुर्वा नगरपालिका–२, स्थित नगर अस्पताल भवनबाट हीरालाल सन्तुदेवी प्रधान नेत्र विज्ञान अध्ययन संस्थानसँगको समन्वयमा सेवा विस्तार गरिएको हो। यसले गाउँमा नै आँखा उपचारको सुविधा पाउन सकिने भएकोले स्थानीय जनता निकै उत्साहित भएका छन्।
सेवा विस्तारसँगै, आँखा उपचारसम्बन्धी विशेषज्ञ सेवा गाउँमै उपलब्ध हुने भएकोले बिरामीहरूलाई टाढा धाउनुपर्ने समस्या समाधान भएको छ। यसअघि बिरामीहरूले जनकपुर, भरतपुर लगायत शहरहरूमा गएर उपचार गर्नुपर्ने बाध्यता थियो। तर अब गाउँमै नै विशेषज्ञ उपचार सेवा उपलब्ध भएकाले बिरामीहरूले सहजता र कम खर्चमा उपचार गर्न सक्ने भएका हुन्।
हरिपुर्वाबाट उपचार गर्न आएका रुपनी देवीले गाउँमै सेवा पाएको सुख व्यक्त गर्दै भनिन्, “दुई महिना पहिला खेतमा काम गर्दा आँखामा धानको पातले घोचेको थियो। उपचार गर्न जनकपुर, भरतपुर धेरै धाउनुपर्यो। अहिले सबै सुविधा गाउँमै आएको छ।”
अस्पतालले चिकित्सकको निरन्तर उपस्थितिका लागि आवश्यक व्यवस्था गरेको छ। सेवा सुरु भएको केही समयपछि बन्द हुने समस्या समाधान गर्न अस्पतालले प्रतिबद्धता जनाएको छ। स्थानीय स्वास्थ्य शाखाका प्रमुख लालबाबु रायले अब आँखाका बिरामीहरूले आफ्नै गाउँमा नै उपचार पाउने व्यवस्था भएको बताएका छन्।
नगरप्रमुख विनोदकुमार साह तेलीले आवश्यक औषधि, उपचार सामग्रीको व्यवस्था गरी निःशुल्क शिविर सञ्चालन गर्ने योजना रहेको बताए। यसले मोतिया विन्दुको शल्यक्रिया लगायत आवश्यक उपचार पनि निःशुल्कमा सञ्चालन हुनेछन्।
यस सेवाको शुरूआतसँगै हरिपुर्वाका वयोवृद्ध तथा बालबच्चाहरुले आँखाको उपचारका लागि अब टाढा यात्रा गर्न नपर्ने भएकोले स्थानीय जनता निकै खुशी भएका छन्। स्वास्थ्य शाखाका अनुसार, यस सेवाले गाउँमा स्वास्थ्य सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने देखिन्छ।
यस कदमले गाउँगाउँसम्म स्वास्थ्य सेवाको पहुँच विस्तार भएको र ग्रामीणहरूलाई सहज र प्रभावकारी चिकित्सा सेवा उपलब्ध भएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






