धुलिखेल सडकखण्डको स्तरोन्नति तीव्र : नयाँ ठेकेदारसँग ३१ करोडको सम्झौता
- अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति कार्यलाई तीव्रता दिइएको छ।
- लामो समय रोकिएको विस्तार तथा कालोपत्रे कार्य नयाँ निर्माण कम्पनीसँग सम्झौता भएपछि पुनः गति पाएको हो।
अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति कार्यलाई तीव्रता दिइएको छ। लामो समय रोकिएको विस्तार तथा कालोपत्रे कार्य नयाँ निर्माण कम्पनीसँग सम्झौता भएपछि पुनः गति पाएको हो। डिभिजन सडक कार्यालय, भक्तपुरका अनुसार सि–एन ए–वान काली जेभीसँग १४ महिनाभित्र काम सम्पन्न गर्ने गरी सम्झौता गरिएको छ। भ्याटबाहेक रु ३१ करोड ५६ लाखमा ठेक्का सम्झौता भएको कार्यालयका प्रमुख, सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए।
योगेशका अनुसार पहिलो चरणमा आगामी चैतसम्म फराकिलो भू–भागमा कालोपत्रे सक्ने लक्ष्य लिइएको छ भने अन्य संरचनागत काम क्रमशः अगाडि बढाइनेछ। हाल विभिन्न स्थानमा ‘कटिङ’ कार्य तीव्र रूपमा भइरहेका छन्।
पुरानो ठेक्का रद्द, नयाँ प्रक्रिया सुरु
निर्माणमा भएको निरन्तर ढिलासुस्तीका कारण तीन वर्षदेखि यो राजमार्गमा यात्रा अत्यन्त कष्टकर बनेको छ। निर्माणमा लापरबाही देखिएको भन्दै कार्यालयले गौरी–पार्वती निर्माण सेवा कम्पनीसँगको ठेक्का रद्द गरेको थियो। सम्झौताको समयसीमा सकिएको ११ महिना बितिसक्दा पनि कम्पनीले २५ प्रतिशत कामसमेत सम्पन्न नगरेपछि ठेक्का रद्द गरिएको हो।
पुरानो ठेक्का रद्द भई पाँच महिनापछि, गत साउनमा पुनः बोलपत्र आह्वान गरिएको थियो। चार किलोमिटर दुरीको सडकखण्ड नयाँ निर्माण कम्पनीले समयमै सक्ने विश्वास कार्यालयले व्यक्त गरेको छ।
ढिलाइका कारण सडक यात्रु निरन्तर जोखिममा
गौरी–पार्वतीले विसं २०७९ जेठ २० मा, २० करोड १९ लाख ४६ हजार ५०१ रुपैयाँमा २२ महिनाभित्र काम सक्ने गरी ठेक्का लिएको थियो। तर, बसपार्कदेखि जिपलाइनसम्म डाँडा ‘कटिङ’ र केही नाली तथा ड्रेन–वालको कामबाहेक उल्लेखनीय प्रगति हुन सकेन। जिपलाइनदेखि खावासम्मको ठूलो भाग केवल भत्काइएको अवस्थामा रह्यो, जसमा एक किलोमिटर भागमा कटिङ नै सुरु हुन सकेको थिएन।
विसं २०८१ जेठमा धुलिखेलतर्फबाट बेस र सब–बेस हाल्ने काम सुरु गरिएको भए पनि बर्खाको कठ्याङ्ग्रिइने वर्षात्ले संरचना पटकपटक बगाइदिँदा सडक खण्डहरजस्तै बनेको थियो।
मुख्य व्यापारिक मार्गमा अवरोध
अरनिको राजमार्ग हुँदै चीनसँगको प्रमुख उत्तरी नाका—तातोपानी— तथा दोलखा, रामेछापलगायतका जिल्लामा जाने मुख्य मार्ग भएकाले सडक निर्माणमा भएको ढिलाइका कारण यात्रुहरू धुलो, हिलो, ट्राफिक जाम र दुर्घटना जोखिमका बीच यात्रा गर्न बाध्य छन्। भत्काइएका सडकमा सवारी दुर्घटना हुँदा सयौँ यात्रु घाइते भइसकेका छन्।
आधुनिक प्रविधिबाट निर्माण हुने सडक
धुलिखेल–खावा सडकखण्डलाई १२ मिटर चौडाइमा फराकिलो बनाइ कालोपत्रे गर्ने योजना छ। यस सडकमा गुड्ने मालवाहक सवारीको भारबहन क्षमता उच्च हुने भएकाले नेपालमै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस, त्यसपछिको डिबिएम र अन्तिम चरणमा आस्फाल्ट कालोपत्रे गर्ने योजना कार्यालयले अगाडि सारेको छ।
नयाँ ठेकेदारले तोकिएको समयमा काम समाप्त गर्ने आशामा स्थानीयवासी र राजमार्ग प्रयोगकर्ताले वर्षौँदेखि प्रतीक्षित सहज र सुरक्षित यात्राको अपेक्षा गरेका छन्।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






