झापामा हात्तीको त्रास र चुनावी उम्मेदवारको दावी: स्थानीयको मुख्य चासो
- झापा ।
- मेचीनगर–१ तिरिङकी सविता पुरी चुनाव नजिकिए पनि खेतमा पाकेको तोरीबाली भित्र्याउन व्यस्त छिन्।
झापा । मेचीनगर–१ तिरिङकी सविता पुरी चुनाव नजिकिए पनि खेतमा पाकेको तोरीबाली भित्र्याउन व्यस्त छिन्। हात्तीले नखाने भएकाले उनको लागि तोरी खेती विकल्प बनेको हो। अन्य बाली हात्तीको आक्रमणले सखाप हुने भएकाले स्थानीयहरू तोरीलाई प्राथमिकता दिन थालेका छन्।
भारत संग सीमा जोडिएको तिरिङ मात्र होइन, मेचीनगर १, २, ३ र ४ सम्म फैलिएको बाहुनडाँगीका स्थानीयको मुख्य चासो र प्रश्न चार दशकदेखि एउटै छ, ‘जङ्गली हात्तीबाट जिउज्यान र बाली कसरी जोगाउने?’
अन्नबाली, फलफूल र तरकारी जोगाउन नसकेर सास्तीमा परेका यहाँका बासिन्दाका लागि तोरीखेती हात्तीबाट जोगाउने एक विकल्प बनेको छ। हात्तीले नखाने भएको कारण, स्थानीय किसानहरूले यसलाई सुरक्षित र लाभदायक मानिरहेका छन्।
झापा निर्वाचन क्षेत्र नं. १ मा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि उम्मेदवारहरूले घरदैलो अभियान थालेका छन्। मेचीनगरको १, २, ३ र ४ नं. वडा साविक बाहुनडाँगी गाविसको हिस्सा हुन्, जहाँ २२ हजारभन्दा बढी मतदाता छन्। अहिले हात्तीको त्रास र खेतबारीको समस्या प्रमुख चुनावी मुद्दा बनेको छ।
‘अहिलेसम्म एकजना मात्र उम्मेदवार आउनुभएको छ, अरू पनि आउनुहोला,’ स्थानीय पुरीले भनिन्, ‘हामीलाई जसले हात्तीको त्रासबाट मुक्त गराउने विश्वाससहित योजना दिन्छ, यसपालिको भोट उसैलाई दिनेछौँ।’
स्थानीयवासीहरूको गुनासो छ कि पटकपटकका सरकार र उम्मेदवार फेरिए, तर बाहुनडाँगीको नियति फेरिएको छैन। भारतबाट मेची नदी तरेर आउने हात्तीलाई रोक्न सरकारले करोडौँ खर्चेर विद्युतीय तारबार लगाएको भए तापनि, ती तारबार अहिले हात्तीको लागि खेलौना जस्तै भएका छन्। हात्तीले तारबार भत्काउने र गाउँ पस्ने क्रम रोकिएको छैन।
कक्षा १२ मा अध्ययनरत युवाम मतदाता प्रवेश पुरीले भने, ‘देशमा धेरै परिवर्तन भए पनि गाउँमा हात्तीको समस्या उस्तै रहेको छ।’ उनले थपे, ‘यसपटक मत माग्न आउने उम्मेदवारहरूलाई हात्तीको समस्या समाधानका लागि दीर्घकालीन र प्रभावकारी योजना सोध्नेछु।’
झापा–१ मा राजनीतिक दलका १३ र स्वतन्त्र २ गरी १५ उम्मेदवार चुनावी मैदानमा छन्। यस क्षेत्रमा एक लाख ३१ हजार ६७ मतदाता छन्, जसमा १० हजार ६९२ नयाँ मतदाता थपिएका छन्। १५ वटा मतदानस्थल र १४५ मतदान केन्द्रबाट मतदान हुनेछ।
झापा–१ को भूगोलमा हात्तीको त्रास भए नभएको कुनै गाउँ छैन, बाली नोक्सान नभएको कुनै वडा छैन र हात्तीको आक्रमणमा आफन्त नगुमाएको कुनै पालिका छैन। चुनाव नजिकिएसँगै यहाँका मतदाता र स्थानीयले नेताहरूले बाँड्ने आश्वासन भन्दा कार्यान्वयनयोग्य समाधानको पर्खाइमा रहेका छन्।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






