बालविवाहको भयावह अवस्था: मधेश प्रदेशमा जनचेतना र शिक्षाको खाँचो
- जनकपुरधाम – मधेश प्रदेशमा बालविवाहको अवस्था निकै भयावह रहेको र यसलाई नियन्त्रण गर्न जनचेतना जगाउनुका साथै छोराछोरीलाई शिक्षा प्रदान गर्नु अपरिहार्य रहेको एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन्।
- मंगलबार जनकपुरधाममा जिल्ला प्रहरी कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र धनुषाको समन्वयमा लाइफ नेपालले आयोजना गरेको ‘बालविवाहविरुद्ध प्रहरीको स्वतःस्फूर्त कारवाही’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले बालविवाह नियन्त्रणका लागि ठोस कदम चाल्नुपर्ने आवश्यकता औंल्याएका हुन्।
जनकपुरधाम – मधेश प्रदेशमा बालविवाहको अवस्था निकै भयावह रहेको र यसलाई नियन्त्रण गर्न जनचेतना जगाउनुका साथै छोराछोरीलाई शिक्षा प्रदान गर्नु अपरिहार्य रहेको एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन्।
मंगलबार जनकपुरधाममा जिल्ला प्रहरी कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र धनुषाको समन्वयमा लाइफ नेपालले आयोजना गरेको ‘बालविवाहविरुद्ध प्रहरीको स्वतःस्फूर्त कारवाही’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले बालविवाह नियन्त्रणका लागि ठोस कदम चाल्नुपर्ने आवश्यकता औंल्याएका हुन्।
कार्यक्रममा बोल्दै वक्ताहरुले बालविवाहलाई कानुनले बर्जित गरे पनि यसको प्रभावकारी कार्यान्वयन नहुँदा समस्या झन बल्झिँदै गएको बताए। उनीहरुले अभिभावकले बालविवाह गराउने घटनामा केही कमी आए पनि २० वर्ष नपुग्दै भागी विवाह गर्नेको संख्या चिन्ताजनक रुपमा बढेको उल्लेख गरे।
मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयकी उपसचिव निर्मला मिश्रले बालविवाह नियन्त्रणका प्रयासहरु भइरहँदा भागी विवाहको समस्या विकराल बन्दै गएको बताइन्। यसको रोकथामका लागि सरोकारवाला सबै पक्षको साझा प्रयास अपरिहार्य रहेको उनको भनाइ थियो।
जिल्ला प्रहरी कार्यालय धनुषाका वरिष्ठ प्रहरी नायव निरीक्षक टेकबहादुर कार्कीले बालविवाह भइरहेको सूचना प्राप्त हुनेबित्तिकै प्रहरीले स्वतःस्फूर्त रुपमा बुझ्ने र स्थानीय सरकारसँगको समन्वयमा तत्काल कारवाही प्रक्रिया अघि बढाउने गरेको जानकारी दिए। उनले मधेश प्रदेशमा बालिका हराएको भन्दै उजुरी लिएर आउने अभिभावकको संख्या बढी रहेको र त्यस्ता उजुरीमा प्रहरीले शून्य सहनशीलताको सिद्धान्त अपनाएर अनुसन्धान गर्ने गरेको बताए। कार्कीले सामाजिक सञ्जालमार्फत हुने प्रेम सम्बन्धका कारण पनि भागी विवाहका घटना बढेको चर्चा गरे।
कार्यक्रममा लाइफ नेपालकी पूजा शर्माले मधेश प्रदेशमा बालविवाहको अवस्था र कानुनी व्यवस्थाबारे प्रस्तुति दिँदै सन् २०१९ को राष्ट्रिय हेल्थ सर्भेअनुसार मधेश प्रदेशमा ५२.५ प्रतिशत बालविवाह हुने गरेको तथ्यांक प्रस्तुत गरिन्। उनले धनुषा जिल्लामा मात्र ५८.५ प्रतिशत बालविवाह हुने गरेको आँकडा पेश गरिन्, जसले समस्याको गम्भीरतालाई थप उजागर गरेको छ।
लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुरको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा नगर बाल सञ्जाल जनकपुरधामकी अध्यक्ष वैष्णवी साह, विभिन्न पालिकाका महिला बालबालिका शाखाका प्रमुखहरु, लाइफ नेपालका लक्ष्मी साह, डोली शर्मा, सुचिता झा, शहिदा खातुन लगायतका व्यक्तिहरुले आ-आफ्नो धारणा राखेका थिए।
बालविवाह, मधेश प्रदेश, जनकपुरधाम, लाइफ नेपाल, प्रहरी, जनचेतना, शिक्षा, भागी विवाह, निर्मला मिश्र, टेकबहादुर कार्की, पूजा शर्मा, सुरैत ठाकुर
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






