कम्बोडियामा मानव तस्करको प्रलोभनमा परी नेपाली १६ का उद्धार, नेपाल फर्काइयो
- काठमाडौं — मानव तस्करको प्रलोभनमा परी कम्बोडिया पुगेका १६ नेपालीको उद्धार गरी नेपाल फर्काइएको छ।
- थाइल्याण्डस्थित नेपाली दूतावासको पहल, कम्बोडिया सरकारको सहयोग र गैरआवासीय नेपाली संघ (एनआरएनए) कम्बोडियाको सहजीकरणमा उनीहरूलाई बिहीबार स्वदेश ल्याइएको हो।
काठमाडौं — मानव तस्करको प्रलोभनमा परी कम्बोडिया पुगेका १६ नेपालीको उद्धार गरी नेपाल फर्काइएको छ। थाइल्याण्डस्थित नेपाली दूतावासको पहल, कम्बोडिया सरकारको सहयोग र गैरआवासीय नेपाली संघ (एनआरएनए) कम्बोडियाको सहजीकरणमा उनीहरूलाई बिहीबार स्वदेश ल्याइएको हो।
दूतावासका अनुसार, ती नेपालीहरूलाई विभिन्न माध्यमबाट कम्बोडियामा ल्याइएका थिए र त्यहाँ अवैधरूपमा सञ्चालित अनलाइन स्क्यामिङ (ठगी) केन्द्र तथा क्यासिनोहरूमा गैरकानुनी काममा लगाइएको थियो। केही नेपालीहरू बिनाभिसा त्यहाँ बसिरहेका थिए। दूतावासले अझै पनि त्यहाँ कठिन परिस्थितिमा रहेका नेपालीहरूको उद्धारका लागि निरन्तर पहल गरिरहेको जनाएको छ।
दूतावासले कम्बोडियामा भिसाम्याद गुज्रिएर बसेका वा जबर्जस्ती गैरकानुनी काममा फसेका नेपालीहरूलाई तुरुन्तै सम्पर्क गर्न आग्रह गरेको छ। उद्धार र नेपाल फर्कने प्रक्रिया सहज बनाउन बैंककस्थित नेपाली दूतावास र एनआरएनए कम्बोडियाका प्रतिनिधिहरूलाई निम्न टेलिफोन नम्बरहरू मार्फत सम्पर्क गर्न अनुरोध गरिएको छ:
– शिवराज पराजुली: +855 12 215 578
– लालसिंह खड्का: +855 93 203 666
– रामजी श्रीकुमार क्षेत्री: +855 96 346 5788
यसका साथै, कामदारहरूको राहदानी (पासपोर्ट) जफत गर्ने वा ट्रान्सफरको क्रममा राहदानी हराउने गुनासो बढेपछि, दूतावासले निःशुल्क ‘एकतर्फी यात्रा अनुमतिपत्र’ उपलब्ध गराउने व्यवस्था गरेको छ। यसले पीडितहरूले आफ्नै ठेगानामा नेपाल फर्किन सहजता पाउनेछन्।
दूतावासले मानव तस्करको प्रलोभनमा नपर्न र धेरै पैसा कमाउने लोभले मानिसहरूलाई सतर्क रहन पनि सर्वसाधारणलाई सचेत गराएको छ। यस घटनाले नेपाली समुदायलाई सचेत रहन र कुनै पनि अनैतिक काममा नलाग्न सुझाव दिएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






