वीरगञ्जमा नयाँ तरकारी र फलफूल बजारको उद्घाटन, किसान र उपभोक्तालाई फाइदा
- वीरगञ्ज – वीरगञ्ज महानगरपालिका द्वारा रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरिएको नयाँ तरकारी र फलफूल बजार सञ्चालनमा ल्याइएको छ।
- यस बजारको उद्देश्य वीरगञ्जका थोकबजारको अभावलाई पूरा गर्नु र किसान तथा उपभोक्तालाई सहज र व्यवस्थित रुपमा उत्पादन र खरिद बिक्रीका अवसरहरू प्रदान गर्नु हो।
वीरगञ्ज – वीरगञ्ज महानगरपालिका द्वारा रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरिएको नयाँ तरकारी र फलफूल बजार सञ्चालनमा ल्याइएको छ। यस बजारको उद्देश्य वीरगञ्जका थोकबजारको अभावलाई पूरा गर्नु र किसान तथा उपभोक्तालाई सहज र व्यवस्थित रुपमा उत्पादन र खरिद बिक्रीका अवसरहरू प्रदान गर्नु हो।
महानगरपालिकाका प्रमुख राजेशमान सिंहले यस बजारलाई वीरगञ्जवासीको लागि तयार पारिएको बताए। उनले भने, “यो बजार छपकैयावासीकै नाममा बनाइएको हो। सफा, सुरक्षित र व्यवस्थित राख्न यहाँका स्थानीयवासीको भूमिका महत्वपूर्ण छ। यो यहाँकै सम्पत्ति र धरोहर हो।” प्रमुख सिंहले अझ भनें, “डेढ वर्षअघि सञ्चालनको प्रयास भए पनि विभिन्न कारणले केही समय ढिलो भएको थियो।”
प्रमुख सिंहले बिपी उद्यानमा रहेका व्यवसायीहरूको कारण पनि बजार सञ्चालनमा ढिलाइ भएको बताए। “अब बिपी उद्यानको अव्यवस्थित बजारलाई हटाउने अभियान थालनी गरिनेछ। साथै, व्यवसायीहरूलाई यहाँ स्थानान्तरण गर्न विकल्प पनि दिइएको छ,” उनले थपे।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बजार सञ्चालनले किसान र उपभोक्तालाई दुवै लाभ हुनेछ भनी बताए। उनले भने, “अव्यवस्थित थोक बजारको अभावमा किसानलाई सडक छेउ वा अस्थायी ठाउँमा बिक्री गर्नुपन्थ्यो। अब किसानले सहज रुपमा उत्पादन ल्याउन र उपभोक्ताले व्यवस्थित रुपमा किनमेल गर्न सक्नेछन्। साथै, सवारीसाधन सञ्चालन पनि सहज हुनेछ।”
महानगरपालिकाका प्रमुख प्रशासनिक अधिकृत अरविन्दलाल कर्णका अनुसार, यस परियोजनाको पहिलो चरणमा रु ७० लाखको लागतमा १४ युनिटमा २८ वटा सटर सञ्चालनमा आएका छन्। बजार परिसरमा बिजुली, पानी, शौचालय, ढल निकास र सुरक्षा व्यवस्था सहित सबै आधारभूत सुविधाहरू उपलब्ध गराइएको छ।
भविष्यमा, दोस्रो चरणमा थप रु ७० लाखको लगानी गर्दै युनिटहरूको संख्या र संरचना विस्तार गरिने योजना रहेको महानगरले जानकारी दिएको छ। यसबाट खुद्रा र थोक कारोबारलाई अलग–अलग संरचनाबाट सञ्चालन गर्न सकिने भएकाले व्यवसायीहरूलाई दीर्घकालीन रुपमा सहजता हुनेछ।
यस नयाँ बजारको उद्घाटनसँगै वीरगञ्जका किसान र उपभोक्ता दुवै फाइदा हुने विश्वास गरिएको छ, जसले शहरको वाणिज्यिक र आर्थिक गतिविधिलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






