प्रकृति संरक्षण र वन्यजन्तु विपद् व्यवस्थापनमा नेपाली सेनाको महत्वपूर्ण भूमिका
- सुनसरी — कोशी टप्पु वन्यजन्तु आरक्षमा वन्यजन्तु र जैविक विविधता संरक्षण तथा विपद् व्यवस्थापनमा नेपाली सेनाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।
- आरक्ष र वरपरका क्षेत्रहरूमा आपत्ति अवस्थामै पनि सेना ‘सबैभन्दा पहिलो र अन्तिम भरोसा’को रुपमा खटिइरहेको छ, जसले स्थानीय समुदाय, पर्यटक र वन्यजन्तुका लागि सुरक्षित वातावरण सुनिश्चित गरिरहेको छ।
सुनसरी — कोशी टप्पु वन्यजन्तु आरक्षमा वन्यजन्तु र जैविक विविधता संरक्षण तथा विपद् व्यवस्थापनमा नेपाली सेनाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। आरक्ष र वरपरका क्षेत्रहरूमा आपत्ति अवस्थामै पनि सेना ‘सबैभन्दा पहिलो र अन्तिम भरोसा’को रुपमा खटिइरहेको छ, जसले स्थानीय समुदाय, पर्यटक र वन्यजन्तुका लागि सुरक्षित वातावरण सुनिश्चित गरिरहेको छ।
सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले भन्नुभयो, “कोशी टप्पुमा सेनाको मुख्य जिम्मेवारी वन्यजन्तु संरक्षण गर्नु र अवैध चोरी, सिकारी नियन्त्रण गर्नु हो।” उहाँले थप्नुभयो, “यसका लागि आरक्षभित्र नियमित गस्ती, चोरी सिकारी विरुद्ध कारबाही र संरक्षणसम्बन्धी कार्यक्रमहरूमा स्थानीय समुदायसँग सहकार्य गरिरहेको छ।”
सहायक रथी बस्नेतले संरक्षण क्षेत्रमा हुने चोरी, सिकारी, अवैध घुसपैठ र अन्य गैरकानुनी गतिविधिहरू रोक्न निरन्तर निगरानी भइरहेको बताए। यसले दुर्लभ जङ्गली जनावर र चराचुरुङ्गीहरूलाई सुरक्षित बनाउँदै आएको छ र स्थानीय समुदाय तथा पर्यटकहरूका लागि विश्वासिलो वातावरण निर्माण भएको उहाँको भनाइ छ।
सेनाले वन्यजन्तु संरक्षण, अवैध चोरी नियन्त्रण, प्राकृतिक स्रोतको संरक्षण र विपद्को समयमा उद्धार कार्यमा निरन्तर सक्रिय भूमिका खेल्दै आएको छ। नियमित गस्ती, निगरानी र अपरेशनल गतिविधिहरूका कारण आरक्षभित्रका जङ्गली जनावर र चराचुरुङ्गीहरू सुरक्षित रहिरहेका छन्।
विसं १८६९ देखि नेपालमा प्रकृति संरक्षणको सुरुआत भएको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको शिलालेखमा भेटिन्छ। नेपालको संरक्षण प्रयास विश्वकै प्राचीन र उदाहरणीय मानिन्छ। कूल सैनिकको लगभग १० प्रतिशत जनशक्ति प्रकृति संरक्षणमा परिचालित रहेको यो विश्वमै अनौठो र प्रेरणादायक कुरा हो।
विसं २०३२ मा स्थापना भएको कोशीटप्पु वन्यजन्तु आरक्ष प्रारम्भमा १७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको थियो। २०६१ सालमा मध्यवर्ती क्षेत्र थपिएपछि अहिले यसको क्षेत्रफल १७३ वर्ग किलोमिटर कायम रहेको छ।
सुनसरी–सप्तरी जिल्लाभित्र सप्तकोशी नदीले बनाएको टापुमा रहेको यस आरक्ष जङ्गली भैँसी (अर्ना) का कारण निकै चर्चित छ। कोशी टप्पु रैथाने अर्ना पाइने एकमात्र संरक्षित क्षेत्र हो।
आरक्षभित्र सप्तकोशीको बालुवाबाट बनेका टापु, सिसौँ र खयरका जङ्गल, बसाइँसराइ गर्ने चराचुरुङ्गी र अतिदुर्लभ खरमयुरका वासस्थानहरू रहेका छन्।
सन् १९८७ देखि यो आरक्ष रामसार सूचीमा सूचीकृत छ। यहाँ घडीयाल, मगरगोही, डल्फिन र माछा जस्ता जलचर प्रजातीहरू पाइन्छन्। कोशी टप्पुलाई ‘चराहरूको राजधानी’ समेत भनिन्छ।
पक्षी अवलोकन र अध्ययनका लागि उत्कृष्ट गन्तव्यका रुपमा रहेको यस आरक्षलाई पूर्वी भारततर्फको जैविक मार्गका रूपमा मानिन्छ। चितुवाबाहेक अन्य ठूलो मांसाहारी जनावरको सङ्ख्या न्यून भए पनि यसले पूर्वी तराई, मधेस क्षेत्रको वन, वनस्पति, हावापानी र जैविक विविधताको प्रतिनिधित्व गर्दै आएको छ।
हिमाल, पहाड र तराईको विशिष्ट जैविक विविधता, लोपोन्मुख वन्यजन्तु, जलचर, पक्षी र विविध वन पैदावारका कारण नेपाल प्रकृति प्रेमी, अनुसन्धानकर्ता र पर्यटकहरूको लागि प्रमुख आकर्षणको केन्द्र बन्दै आएको छ।
यस्ता प्राकृतिक स्रोत र जैविक विविधतालाई दीर्घकालसम्म संरक्षण गर्न चुनौतीपूर्ण भए तापनि सेनाले पाँच दशकदेखि निरन्तर रूपमा सुरक्षाका लागि खटिइरहेको प्रवक्ता बस्नेतले बताए। सेनाले ३३ जिल्लामा अवस्थित १४ राष्ट्रिय निकुञ्जसहित आरक्ष र संरक्षण क्षेत्रको सुरक्षा गरेको छ।
सेनाले वन्यजन्तु संरक्षण, अवैध गतिविधि नियन्त्रण, स्थानीय समुदायसँगको सहकार्य, जैविक विविधता संरक्षणबारे जनचेतना फैलाउने तथा प्राकृतिक स्रोतको दीर्घकालीन उपयोग सुनिश्चित गरेको छ। विपद्को समयमा उद्धार, राहत वितरण र पुनःस्थापनामा पनि सेनाले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।
विसं २०३८ देखि कोशीटप्पुको संरक्षणमा सेना खटिइरहेको हो। यसका कारण आरक्षभित्र पाइने दुर्लभ अर्नाको सङ्ख्या वृद्धि भएको आरक्ष कार्यालयले जनाएको छ।
सन् १९७६ को गणनाअनुसार यहाँ ६३ वटा अर्ना थिए भने २०२१ को गणनाअनुसार चार सय ९८ वटा अर्ना रहेको छ।
आरक्ष प्रमुख भूपेन्द्रप्रसाद यादवका अनुसार, कोशीटप्पुमा ४२ वटा स्तनधारी, ५३५ वटा पक्षी, १४१ वटा माछा र ७७ वटा पुतली प्रजाति पाइन्छ। विसं २०८० को गणनाअनुसार खरमयुर प्रजाति ३२ वटा र २०७९ को गणनाअनुसार डल्फिन १९ वटा रहेको जानकारी दिए।
कोशी टप्पुमा धेरै जसो चराहरु साइबेरियाबाट आउने गरेका छन्, धेरैजसो जाडो छल्न आउने गरेको यादबले बताए। जङ्गली हात्ती, एकसिङ्गे गैँडा, ढाड नहुने प्राणी जस्ता ५७ प्रजाति यहाँ रहेका छन्।
रात्री गस्ती, आकस्मिक तैनाथी, सूचनाको संकलन र विश्लेषणका कारण चोरी, अवैध क्रियाकलाप र पैठारीमा उल्लेख्य कमी आएको सेनाको भनाइ छ।
सेनाले विभिन्न अवैध क्रियाकलाप विरुद्ध संयुक्त अपरेसन, जोखिमयुक्त क्षेत्र पहिचान, र अस्थायी चेकपोइन्ट स्थापनाका साथै स्मार्ट पट्रोल, ट्रयाकिङ डिभाइस, ड्रोन, सिसिटिभी जस्ता आधुनिक प्रविधि प्रयोग गरी संरक्षणलाई थप प्रभावकारी बनाएको छ।
विपद्को समयमा पनि सेनाले उद्धार, राहत र पुनःस्थापनाका कार्यहरूलाई तीव्रता दिएर स्थानीय समुदायको भरोसा जितिरहेको छ।
सेनाको निरन्तर प्रयास र समर्पणले कोशी टप्पु वन्यजन्तु आरक्षलाई जैविक विविधता र प्राकृतिक स्रोतहरूको दीर्घकालीन संरक्षणमा सफल बनाएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






