छठपर्वको दोस्रो दिन आज खरना विधि गरि श्रद्धासाथ मनाइदै।
- जनकपुरधाम — तराई मधेसवासीहरूको प्रमुख चाड, चार दिवसीय छठ पर्वको दोस्रो दिन आज खरना विधि गरिँदै मनाइँदैछ।
- यस पर्वको जीवनपद्धतिलाई प्रतिबिम्बित गर्ने खरना दिनलाई पापको क्षय हुने दिन पनि भनिन्छ।
जनकपुरधाम — तराई मधेसवासीहरूको प्रमुख चाड, चार दिवसीय छठ पर्वको दोस्रो दिन आज खरना विधि गरिँदै मनाइँदैछ। यस पर्वको जीवनपद्धतिलाई प्रतिबिम्बित गर्ने खरना दिनलाई पापको क्षय हुने दिन पनि भनिन्छ।
शनिवारदेखि विधिवत रूपमा सुरु भएको यस पर्वको पहिलो दिन ‘नहाय-खाए’ गरिएको थियो। आज, खरना दिन, व्रतालुहरूले दिनभर निराहार बस्दै राति खीर बनाई देउतालाई चढाउने परम्परा छ। यस विधिलाई ‘खरना’ भनिन्छ। राति, चन्द्रदर्शन पछि, माटोको चुल्होमा सक्खर, दूध र धानको चामल मिलाएर पकाइएको खिर छठी मातालाई अर्पण गरिन्छ, जुन परम्पराका अनुसार प्रसादको रूपमा ग्रहण गरिन्छ।
खरना पछि व्रतालुहरू पर्वको तेस्रो दिनको तयारीमा लाग्ने गर्दछन्। भोलि कात्तिक शुक्ल षष्ठी तिथिमा अस्ताउँदो सूर्यलाई जलाशयमा पुगेर ‘साँझको अघ्र्य’ दिने चलन छ, जसलाई सँझिया घाट भनिन्छ। चौथो र अन्तिम दिन, सप्तमी तिथिमा, उदाउँदो सूर्यलाई ‘बिहानी अघ्र्य’ दिने परम्परा रहेको छ, जसलाई पारन पनि भनिन्छ। सूर्यदेवलाई ठकुवा, भुसुवा र केरा सहितका प्रसाद चढाइन्छ।
छठ पर्वका लागि विशेष परिकारहरू जस्तै ठकुवा र भुसुवा पिठोबाट तयार गरिन्छ। घाटको सरसफाइ गरी अघ्र्य दिने तयारी गरिँदैछ, जसले यस पर्वको पवित्रता झल्काउँछ। मिथिला र पहाड क्षेत्र मात्र नभई, इस्लाम धर्मावलम्बीहरू समेत यस पर्वमा सहभागी हुँदै आएका छन्।
घाटको सजावट अन्तिम चरणमा पुगेको छ। पोखरी, नदी, कुवा लगायतका स्थानलाई झकिझकाउ बनाइएका छन्। घाट निर्माण र टेन्ट लगाउने काम सम्पन्न भएको छ भने, झिलिमिली बत्तीले घाटलाई सजीव बनाइँदैछ। जनकपुरधाममा गंगासागर, दशरथ तलाउ, अरगजा सर लगायत दर्जनौँ पोखरीमा यस पर्वको उत्सव मनाइँदैछ।
छठ पर्व घरेलु उत्पादनमा निर्भर भएकाले आफ्नै खेतबारीमा उगाइएका गहुँ र चामललाई धोई, सुखाई, पिसेर परिकार बनाउन प्रयोग गरिन्छ। यस पर्वको मुख्य महत्त्व भनेको शुद्धता, समर्पण र निष्ठा हो। मिथिला संस्कृतिका जानकार रामभरोस कापडीले यस पर्वमा प्रयोग हुने वस्तुको शुद्धता नै यसलाई अन्य पर्वभन्दा फरक बनाउने मुख्य कारण भएको बताएका छन्।
बजारमा अहिले बाँस र माटोबाट बनेका सामग्रीहरूको खपत बढ्दै गएको छ। माटोका घैँटा, हात्ती, बाँसबाट बनेका टोकरी र नाङ्लो जस्ता परम्परागत सामग्रीहरू बिक्रीमा छन्। यस पर्वले विभिन्न धर्म, संस्कृति र समुदायलाई एकतामा बाँध्दै आएको समाजशास्त्री मिथिलेस झाको भनाइ छ।
छठ पर्वको यस पावन अवसरले परम्परा र संस्कृतिको संरक्षण गर्दै, सबैको मनमा श्रद्धा र एकता सुदृढ बनाउँदै आएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






